राजनीति
पूर्वराजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि बुधबार अपरान्ह पत्नी कोमलसहित झापा आइपुगेका छन्। बाराको सिमराबाट आफैं गाडी चलाएर पूर्वराजा ज्ञानेन्द्र पत्नीसहित झापाको हिमालयन महालक्ष्मी चिया बगान आइपुगेका हुन्।
उनकै स्वामित्वमा रहेको हिमालयन महालक्ष्मी चिया बगान भित्रको मिनी दरवारमा ज्ञानेन्द्र पत्निसहित बस्नेछन्।
सिमराबाट झापासम्म आउदा पूर्वराजा ज्ञानेन्द्र आफैंले सवारी चलाएका थिए। ठाउँ ठाँउमा उनका समर्थक स्वागतका लागि पूर्व-पश्चिम राजमार्गमा फूल माला लिएर बसे पनि उनले गाडी रोकेनन्।
ढाका टोपी, दौरा सुरूवाल र राष्ट्रिय झन्डासहित बसेका समर्थकले पूर्वराजा ज्ञानेन्द्रले गाडी नरोकेपछि उनलाई लगादिन हातमा लिएको सयपत्रीको माला आफैं लगाएका थिए।
बिहान ११ बजेदेखि सडकमा उभिएकी ५४ वर्षीय धनरानी अधिकारीले पूर्वराजा ज्ञानेन्द्र शाहालाई माला लगाईदिन नपाएपछि भुईँमा फालिदिईन्। उनले ‘आफ्नै हातले उनेको माला लगाईदिन नपाएपछि फालिदिएको हुँ। ड्राईभर आफैं भएपछि त देखेर पनि रोक्नुपर्छ नि?’
समाचार स्रोतका अनुसार ज्ञानेन्द्रले झापा बसाईका क्रममा पूर्व राजावादीसँग भेटघाट गर्ने कार्यक्रम छ। बुधबार साँझ पनि उनले दमक आसपासका पूर्वराजावादीसँग भेटघाट र वर्तमान राननीतिक अवस्थाका बारेमा कुरा गर्नेछन्।