राजनीति
‘रूपै राम्रो रूपा तालमाथि भीरचोक गाउँ…….’ बोलको गीतलाई चरितार्थ पार्न कास्कीको तेस्रो ठूलो रूपातालको स्वरूप फेरिने भएको छ । किम्बदन्ती अनुसार घामको किरण र मौसम अनुसार तालको पानीले रङ्ग फेर्ने भएकाले यसको नाम रूपाताल राखिएको हो ।
तालको वास्तविक क्षेत्रफल १३५ हेक्टर रहे पनि अहिले १०७ हेक्टरमा सीमित भएकाले दक्षिणपट्टी ५७२ मिटर लामो बाँध निर्माण गरेपछि क्षेत्रफल वृद्धि भएर १८३ हेक्टर हुने अनुमान गरिएको छ ।
बाँध निर्माणका लागि मुआब्जा दिन अर्थ मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई रु २५ करोड उपलब्ध गराएको र मुआब्जा पनि वितरण गरिएपछि बाँध निर्माण गर्न लागिएकोे रूपाताल संरक्षण एकीकृत विकास परियोजनाका प्रमुख रामप्रसाद अर्यालले बताए ।
तालको दक्षिणपट्टी सिस्ठेनी टुडाबाट सुवेदी टुडासम्म जमीनको सतहसहित छ मिटर उचाइको पक्की बाँध निमार्ण हुने भएपछि अहिले भइरहेको पानीको सतह तीन मिटर बढ्नेछ भने तालको औसत गहिराई तीन मिटरबाट बढेर साढेचार मिटर पुग्ने विश्वास गरिएको छ ।
बाँध निर्माणका लागि सर्भेक्षणको काम भइरहेको र पहिलो चरणमा ताल क्षेत्रभित्र रहेको ८५५ रोपनी जग्गा अधिग्रहण गर्न दक्षिणपट्टी १९० रोपनी र तालको माथिल्लो भाग तालबेंसीतर्फ ६६५ रोपनी जग्गाको प्रति रोपनी रु १२ लाख ९३ हजार र आठ लाख ६२ हजारका दरले मुआब्जा वितरणको काम भइरहेको प्रमुख अर्यालको भनाइ थियो ।
विसं २०५८ मा तालको संरक्षण र ताललाई आयआर्जनसमेत गर्ने लक्ष्यका साथ रूपाताल पुनःस्थापना तथा मत्स्य सहकारी सस्थाले प्रस्तुत गरेको योजनालाई स्थानीयवासीले अघि बढाउन पहल गरेकाले बाँध निर्माण सहज भएको रूपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिए ।