राजनीति
पोखरा – आइतबार बिहान ११ बजेर २० मिनेट जाँदा साराङकोटबाट उडेको एक प्याराग्लाइडरको पोखराको फेवातालमा भएको प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएको छ। आइतबार बिहान ११ बजेर २० मिनेट जाँदा साराङकोटबाट उडेको सो प्याराग्लाइडिङ फेवातालमा खसेको थियो।
ब्लुस्काई प्याराग्लाइडिङमबाट पर्मिट लिएर सोलो उडेका ४२ वर्षीय रोमानियाका नागरिक इदे सिजरको सो दुर्घटनामा मृत्यु भएको हो।प्यारग्लाइडिङ खसेको सूचनासँगै पुगेको प्रहरी टोलीले उनको उद्धार गरी मट्रोसिटी अस्पतालमा पु¥एको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्याराग्लाइडिङ ल्यान्ड गर्न क्रममा सन्तुलन नमिल्दा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्याराग्लाइडिङको लागि प्रख्यात छ ६० वटाको हाराहारीमा रहेका प्याराग्लाइडिङ कम्पनीहरुले दैनिकजसो यहाँको आकाशमा मान्छे उडाउँछन्। त्यसो त, रहरले एक्लै उड्ने पाइलटहरु पनि पोखरामा आकाशमा कावा खाइरहेका हुन्छन्। प्याराग्लाइडिङका लागि सुरक्षित मानिन्छ पोखराको आकाश। तर, दुर्घटना नै नहुने भन्नेचाहिँ होइन्।
प्याराग्लाइडिङबाट खसेर मर्नेको संख्या पनि ठूलै छ। आइतबार बिहानमात्र पोखरामा रोमानियाका ४२ वर्षीय इदे सिस्जरले ज्यान गुमाए। सारङकोटबाट उडेका उनी ल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परेका थिए। उनले यहाँको ब्लु स्काई प्याराग्लाडिङ कम्पनीबाट उडान अनुमति लिएको खुलेको छ।
‘पोखराको आकाश सुरक्षित नै छ तर असुरक्षित र भर्खरै सिकेकाहरु धेरैजसो दुर्घटनामा पर्ने गरेका छन्’, प्यारापाइलट लक्ष्मण न्यौपानेले भने,‘ विदेशीहरु उडान अनुमति नै नलिई उड्दा पनि दुर्घटनामा पर्ने गरेका छन्।’
उडान अनुमति दिने संस्था हो, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय। नागरिक उड्डयन मन्त्रालय पोखराका प्रमुख भोलाप्रसाद गुरागाईँका अनुसार यो वर्षमात्र ८ सय १९ जना विदेशीले पोखरामा उड्ना लागि अनुमति लिएका छन्। मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ को दफा १७ ले विदेशी नागरिकले गैरव्यावसायिक उडान भर्न चाहेमा ५ हजार रुपैयाँ शुल्कसहित १५ दिनको लागि उडान अनुमति दिने व्यवस्था गरेको छ। हवाई उड्यन मन्त्रालय पोखराका प्रमुख गुरागाईँका अनुसार उड्न चाहने विदेशीले यहीँको कम्पनीमार्फत निवेदन दिनुपर्छ। उडानको अनुगमन पनि सोही कार्यालयले गर्छ। तर, अनुमतिबिनै आकाशमा उड्नेहरुको पनि कमी छैन यहाँ।
‘दैनिक १५÷२० जनाहरु अनुमतिबिनै उडेका हुन्छन्’, एक पाइलट भन्छन्, ‘त्यसरी उड्नेहरु प्रायःजसो दुर्घटनामा परेको हाम्रो अनुभव छ।’
यतिबेला रुसको हवाई खेल महासंघले पोखरामा ‘२०१९ हिमालयन कप’को नाममा प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गरिरहेको छ। फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन २२ गते सकिँदैछ। सहभागीसँग २५ युरो प्रवेश शुल्क लिई आयोजित सो प्रतियोगिताबारे हवाई उड्डयन कार्यालयलाई जानकारी नै छैन। ‘यो महिना मात्र करिब ३ सय जनाले उडान अनुमति लिएका छन्’, हवाई उड्यन मन्त्रालय पोखरा भन्छ,‘ अनुगमन त गरेका छौँ तर प्रतियोगिताबारे थाहा छैन।’ तर, उडान अनुमति लिएकाहरु यही प्रतियागितामा सामेल भएको प्याराग्लाइडिङ व्यवसायीहरुले बताएका छन्।
प्रतियोगिता आयोजकले हवाई खेलकुद संस्थालाई प्रतियोगिताबारे जानकारी भने गराएको छ। हवाई खेलकुद संस्था (ना) लाई पठाइएको पत्रमा प्रतियोगितामा सामेल हुनेहरुले उडान अनुमति लिनुपर्ने उल्लेख भने गरिएको छ। अहिले हवाई दुर्घटनामा परेका पाइलट पनि यही प्रतियोगितामा सामेल हुन आएको अनुमान गरिएको छ। सो प्रतियोगिता आयोजक रसियन नागरिक इजोभ काजाकोभ हुन्।