काठमाण्डौ- बहुराष्ट्रिय कम्पनी बरुण बेभरेज प्रालिले उत्पादन गर्दै आएको म्याङ्गो स्लाइसमा शंकास्पद वस्तु भेटिएको छ । स्लाइसमा शंकास्पद वस्तु मिसावट गरेर बरुण बेभरेज प्रालिले उपभोक्ताको स्वास्थमा गम्भीर खेलबाड गर्दै आएको पाइएको हो ।
उपभोक्ताको पक्षमा आवाज उठाउँदै आएको राष्ट्रिय उपभोक्ता मञ्चले संकलन गरेको नमूनामा शंकास्पद वस्तु फेला परेको हो । मञ्चले संलकन गरेको नमूना अनुसार स्लाइसको बोतलमा शंकास्पद पारदर्शी तरलपदार्थ भेटिएको छ ।
बोतलको केही भागमा स्लाइसभन्दा छुट्टै किसिमको ‘तरल पदार्थ’ देखिन्छ । बोतल हल्लाएमा मात्रै उक्त तरल पदार्थ र त्यसमा रहेको ठोस वस्तु एक आपसमा घोलिएको देखिन्छ । बोतललाई केही समयका लागि स्थिर छाडिदिएमा त्यसमा भएका ठेस र तरल पदार्थ दुवै स्पष्ट रूपमा छुट्टिएको देखिन्छ ।
सरकारी कर्मचारीकै शंकास्पद भूमिका,विभागको दुईथरी बोली

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बरुण बेभरेजका बारेमा कुनै पनि उजुरी नआएको दाबी गरेको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले उजुरीको बारेमा थाहा नभएको बताउँदै अब थाहा भएकाले चाँडै नमूना लिनका लागि अनुसन्धान अधिकृत पठाउने बताए ।
आइतवार (आज) नै अनुसन्धान अधिकृत पठाउने र मञ्चले संकलन गरेर ल्याएको नमूना ल्याएर परीक्षण कार्य अघि बढाउने कर्णले बताए ।‘उजुरीको बारेमा थाहा छैन,’ उनले भने, उपभोक्ता मञ्चसँग सम्पर्क गरेर म आजै अनुसन्धान अधिकृत पठाएर नमूना ल्याउन लगाउँछु ।’
त्यस्तै विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बरुण बेभरेजका बारेमा सम्बन्धित अधिकारीसँग बयान लिने क्रममा शुरू भएको बताए । ‘बरुण बेभरेजवाला मान्छेहरूलाई बयान काम भइराखेको छ,’ उनले भने, ‘अझै अनरलाई बोलाउन बाँकी छ । उहाँको बयान लिन बाँकी छ । अनि मुद्दा अगाडि बढ्छ ।’
बरुण बेभरेजका बारेमा परेको उजुरीबारे अनुसन्धान भइरहेको प्रवक्ता वस्तीको भनाइ थियो ।लोकान्तरवाट साभार