राजनीति
पोखरा- गण्डकी सरकारको वन वातावरण तथा पर्यटन मन्त्रालय र पोखरा महानगरले चार किल्ला कायम गरीफेवातालको संरक्षणको लागि फेवा स्तम्भ राख्ने तयारी थालेको छ। फेवा ताल आसपासमा जग्गा भएकाहरूले ताल हडप्नेक्रम नरोकिएपछि प्रदेश सरकारले यस्तो निर्णय गरेका हुन। तालको क्षेत्रफल यकिन गर्नको लागि बुधबार पोखरा महानगरको टोलीसँगै प्रदेशका सांसदहरू र विभिन्न मन्त्रालयका सचिवहरूको टोलीले ड्याम साइड देखि खपौँदी लगायतको क्षेत्रको स्थलगत अवलोकनसमेत गरेको छ।
फेवातालको वरपरको ६५ मिटर भू-भागमा पर्ने घर टहरा प्रदेश सरकारसँग समन्वय गरेर ६ महिनाभित्र हटाउन अदालतले आदेश दिएको थियो। अहिले १६९२ रोपनी तालको जग्गा व्यक्तिको नाममा नामसारी भएको अनुमान गरिएको छ। गण्डकी प्रदेशले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा फेवातालको संरक्षणको लागि समिति पनि गठन गरिसकेको छ।
के हुन्छ फेवा पिल्लरमा? पिल्लरको अगाडीको पाटामा ‘सेभ फेवा’ लेख्ने र अन्य तीन वटा पाटामा पोखरासँगै गण्डकी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा लेख्ने तयारी भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। तालको डिजाइन पनि भइरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए। ‘कति फिटको दुरीमा पिल्लर गाड्ने भन्ने निर्णय भएको छैन,’ उनले भने, ‘दुरी जतिमा गाड्ने भए पनि तालको चारैतिर पिल्लर हुन्छ।’