राजनीति
पाल्पा- आज देखिको अनिश्चितकालिन बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । आफ्ना व्यवसायीलाई प्रहरी प्रशासनले पक्राउ गरेको विरोधमा पाल्पा उद्योग वाणिज्य संघले आहृवान गरेको बन्दका कारण पाल्पाको सडकमा निजी तथा सार्वजनिक सवारीका साधन चलेका छैनन् भने पसल, उद्योग, कलकारखाना बन्द भएका छन् ।
संघले (एसईई) लाई अवरोध नगरेको जनाएको छ । आज बिहानैदेखि उद्योगी, व्यवसायीहरु सडकमा उत्रेर आफ्ना व्यवसायीलाई विना सर्त रिहाइको माग गर्दै नारा जुलुस गरेका छन् ।पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भटराई, व्यवसायीहरु लक्ष्मण रेग्मी र बाबुराम विष्टलाई विना प्रमाण प्रशासनले पत्रकार कुटपिटको आरोपमा थुनामा राखेको विरोधमा बन्द आहृवान गरेको जानकारी दिए ।
शुक्रबार तानसेनका होलाङ्दी, बसपार्क ढुंगाखानी घर घडेरी पीडितहरु तानसेन नगरपालिकामा गएर फर्किदा पत्रकार विजय बौडेललाई आक्रमण गरेको र सोही विषयलाई बुझ्न पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेश कुमार अर्याल नगरपालिका पुग्दा भीडले आक्रमणको प्रयास गरेको थियो ।
महासंघले स्थानीय बासिन्दाले तानसेन नगरपालिकाले गत फागुन १५ गते होलाङदी बसपार्क ढुंगाखानी सडक केन्द्रदेखि दायाँׅबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर आक्रमण गरेको जनाएको छ । बाटो चौडा बनाउन नदिने भन्दै समूहमा रहेका बाबुराम विष्ट, शैलेन्द्र भट्टराई, लक्ष्मण रेग्मी लगायतले शाखाका अध्यक्ष अर्याल,शाखाका सदस्य बौडेल लगायतका पत्रकारहरूलाई समाचार संकलनका क्रममा हातपात गरी ज्यान मार्ने प्रयास गरेको घटनाप्रति महासंघले भत्सना गरेको हो । निहत्था संचारकर्मीमाथि हातपात गर्ने र ज्यान मार्ने धम्की समेत दिने उपर आवश्यक कानूनी कारवाही गर्न महासंघले प्रशासन समक्ष माग गरेको छ ।