logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

क्षतिपूर्ति र घाइतेहरुको उपचार गर्न प्रचण्डको आग्रह,उद्धार राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन


  • राजनीति
  • सोमबार, चैत्र १८ २०७५

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट मृत्यु र घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् ।  कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति प्रचण्ड गहिरो दुःख प्रकट गरेका छन् ।

सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

‘ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु’ अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गरेका छन् ।

गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए ।

आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् ।

उनले घटनामा परी मृत्युु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार