राजनीति
काठमाण्डौ – देशमा लोडसेडिङ ब्युँताउन खेल सुरु भएको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।
सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले केही व्यक्ति र मिडिया परिचालन गरेर आफू र प्राधिकरणका बारेमा अनर्गल प्रचार भैरहेको र देशमा फेरि लोडसेडिङ गराउन चाहेको आरोप लगाअेका छन।
‘अनेक हतियार प्रयोग गरेर विगतमा प्राधिकरण डुबाएका व्यक्तिले हामीलाई काम गर्न डिस्टर्ब गरेका छन्, उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन’, घिसिङले भन्नुभयो, ‘हामीले रातदिन नभनी देशमा उज्यालो ल्याउन लागिपरेका छन्, हामीलाई प्रहार गर्नेले विचार गरून् ।’
पहिला प्राधिकरण चुसेकाहरुले सरकारबाट अनुदान लिएर प्राधिकरण नाफामा गएको भन्ने गलत हल्ला फैलाएको पनि दाबी गर्नुभयो । विगतमा ९ अर्ब घाटामा गएको प्राधिकरण अहिले नाफामा गएको घिसिङले बताए।
आफूहरुको काम नागरिकले मुल्यांकन गरिरहेको भन्दै उहाँले प्राधिकरण नाफामा गएको नपचेको बताउनुभयो । प्राधिकरणका पाँचौ तहका केही कर्मचारीले केही मिडिया प्रयोग गरेर आफूविरुद्ध नभएका हल्ला फैलाएको भन्दै उहाँले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने बताउनुभयो ।
‘प्राधिकरणलाई ध्वस्त पार्ने गिरोहलाई एमडीले टुलुटुलु हेर्दै बस्न सक्दैन, यो चानचुने एमडी होइन, हामीलाई डिस्टर्ब गर्नेहरुको वास्तविकता पत्ता लगाएरै छाडिने छैन’, उहाँले भन्नुभयो, ‘हिजो प्राधिकरण कसरी सिध्याए भन्ने सबैलाई थाहा छ, उनीहरु पनि तानिन सक्छन ।’
आफू प्राधिकरणमा रहेसम्म पारदर्शी भएर काम गर्ने तर कसैले दादागिरी गरेमा त्यो कारबाहीको भागिदार भएरै छाड्ने उहाँले चेतावनी दिनुभयो ।