राजनीति
पोखरा- सुरक्षा खतराको सामना गर्न नेपाली सेना सतर्क हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन गरेका छन। नेपाली सेना सहायक सेनानी दर्जा तालिमको आयुक्त पद प्रदान कवाजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक शान्ति सुरक्षासँग सम्बद्ध सुरक्षा निकायहरु समेत सदैव सजग र सतर्क हुनुपर्ने बताएका हुन्।
‘वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेश ज्यादै तरल, जटिल र अन्तर सम्बन्धित छ। अन्तराष्ट्रिय आतंकवाद, जातिय तथा धार्मिक अतिवाद, आन्तरिक द्वन्द्व तथा विद्रोह आजका ठूला सुरक्षा खतराहरु हुन्’ प्रधानमन्त्री ओलीले भने,‘तसर्थ, देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना सदैव सजग र सतर्क रहन जरुरी छ।’
नेपाली सेनाले विभिन्न राज्यहरुमा खण्डित भू-भागलाई एकीकरण गरी एकीकृत नेपाल निर्माण गरेको समेत प्रधानमन्त्री ओलीले प्रस्ट पारे। ‘नेपाल राष्ट्रको इतिहास र एकीकरण नेपाली सेनासँग अन्योन्याश्रित रुपमा जोडिएको छ’ उनले भने,‘तत्पश्चात् राष्ट्रिय एकीकरणबाटै स्थापित नेपाली सेनाले विभिन्न कालखण्डमा नेपाल आमाको अस्तित्वमाथि धावा बोल्ने बैरीका विरुद्ध ज्यानको परवाह नगरी नेपालको रक्षा गरेको प्रसंग तपाईहरु माझ सगर्व स्मरण गर्न चाहन्छु।’
प्रधानमन्त्रीसेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको समेत ओलीले बताए। ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध बिस्तार र राष्ट्रिय संकटमा नेपाली जनतासँग काँधमा काँध मिलाउदै नेपाल राष्ट्र र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको छ’ उनले भने।