पोखरादेखि २७ कि.मी. उत्तर पूर्व दिशामा पर्ने मादी गाउँपालिका वडा नं. २ मा समुद्र सतह देखि १६८५ मिटरमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्छ ताङतिङ गाउँ । पोखरा १३, काहुँखोला, कसेरी, विजयपुर खोला, छाचोक हुँदै चाँसुमा मादी खोला तरे पछि सेती खोला पुगे पछि उकालो चढदै उपल्लो बेशी हुँदै ताङतिङ गाउँ पुगिन्छ।

पोखराबाट ताङतिङ जानलाई बसमा २:०० घण्टा र जिपमा १:३० घण्टा लाग्छ । ताङतिङ जनालाई काहुँखोलामा बिहान ८:०० बजे र बेलुका ४:०० बजे बस पाइन्छ। जिपमा जान चाहेमा पनि पाइन्छ । ट्रेकिङ गर्न मन लागेमा चाँसुमा झरेर करिब ३:०० घण्टामा विस्तारै हिँडदा गाउँ पुगिन्छ।
ताङतिङ गाउँमा २०० घर छन्। गुरूङ संस्कृतिको जिवन्त शैली अध्ययन, अनुसन्धान, अवलोकन गर्नलाई ताङतिङ ज्यादै राम्रो छ। गाउँको बिच बिचमा सफा गोरेटो बाटो छ जहाँबाट टोल टोलमा पुगि गाउँ मज्जाले घुम्न सकिन्छ। ताङतिङ गाउँ हिउँ पहिरो हेर्नलाई अति उपयोगी ठाउँ हो। गाउँ पारी नजिकै रहेको अन्नपूर्ण हिमाल र लमजुङ हिमालहरु आँखैमा, मनैमा सदा रहने गरी मज्जाले हेर्न पाइन्छ।