logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सर्वोच्चका नवनियुक्त न्यायाधीश तथा निर्वाचन आयोगका प्रमुखद्वारा सपथ ग्रहण


  • रासस
  • आइतबार, बैशाख ८ २०७६

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा सपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा रहेका छन्।

उनीहरुमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुन्। प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पनि पद तथा गोपनीयताको सपथ गराएका छन्।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको सपथ लिइन्। नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ।

राष्ट्रपति भण्डारीले उनीहरुलाई शुक्रबार सो पदमा नियुक्त गरेकी थिइन्। सर्वोच्च अदालतका न्यायाधीश न्यायपरिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार