logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

निर्मल पुर्जाको निधन पुष्टि, इलाइट एक्सपेडले भन्यो “उनको विरासतले पुस्तौँसम्म प्रेरणा दिइरहनेछ”


  • राजनीति
  • शनिबार, साउन १६ २०८३

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ। उनी संस्थापक रहेको पर्वतारोहण संस्था इलाइट एक्सपेड ले शनिबार आधिकारिक वक्तव्य जारी गर्दै पुर्जाको निधनको पुष्टि गरेको हो।

इलाइट एक्सपेडका अनुसार ब्रड पिकमा आएको हिमपहिरोपछि आरोहण अभियानमा सहभागी अन्य सदस्यहरूको पनि जीवन नरहेको जानकारी प्राप्त भएको थियो। संस्थाले निम्सदाइसँगै ज्यान गुमाएका उनका आरोहण साझेदार तथा गाइड पुर बहादुर गुरुङ (युक्ता) र निमा शेर्पा प्रति पनि गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ।

वक्तव्यमा भनिएको छ, “यस्तो अकल्पनीय क्षतिको पीडा शब्दले व्यक्त गर्न सकिँदैन।” संस्थाले शोकसन्तप्त परिवार, साथीभाइ र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह गरेको छ।

इलाइट एक्सपेडले निर्मल पुर्जालाई विश्व पर्वतारोहण क्षेत्रका महानतम आरोहीमध्ये एक, साहसी नेता र करोडौँ मानिसलाई प्रेरणा दिने व्यक्तित्वका रूपमा स्मरण गरेको छ। संस्थाले उनका असाधारण आरोहण उपलब्धिभन्दा पनि मानिसहरूलाई ठूलो सपना देख्न, आफूमा विश्वास गर्न र चुनौतीसँग नडराउन प्रेरित गर्ने उनको सोच नै सबैभन्दा ठूलो विरासत भएको उल्लेख गरेको छ।

वक्तव्यमा भनिएको छ, “जब मानिसले ठूलो सपना देख्छ, आफूमा विश्वास गर्छ र सीमिततालाई स्वीकार गर्दैन, तब मानव क्षमताले कल्पनाभन्दा धेरै ठूलो उपलब्धि हासिल गर्न सक्छ भन्ने कुरा निम्सदाइले संसारलाई देखाउनुभयो।”

संस्थाका अनुसार पुर्जाको दूरदृष्टि, नेतृत्व क्षमता र दृढ संकल्पकै कारण इलाइट एक्सपेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोर जस्ता संस्थाहरू निर्माण र विस्तार सम्भव भएका थिए।

इलाइट एक्सपेडले उनको योगदान र प्रेरणा सदैव जीवित रहने विश्वास व्यक्त गर्दै भनेको छ, “उनको आत्मा, उद्देश्य र विरासतले आगामी पुस्तालाई निरन्तर प्रेरित गरिरहनेछ।”

साथै संस्थाले कठिन परिस्थितिमा खोज तथा उद्धार अभियानमा संलग्न टोली र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार