logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

टोर्नाडो पिडित बारा:पिडा माथी पिडा,ज्यान गुमाएका १८ जनाका परिवारले पाएनन् राहत


  • राजनीति
  • आइतबार, बैशाख ८ २०७६

बारा –  चैत्र १७ गते आएको हावाहुरीमा परी मृत्यु भएका २८ जनालाई राहत वितरण गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कलैया पुगेपनि सबै पीडितले राहत भने पाएनन् । प्रदेश २ का मुख्यमन्त्री राउत शुक्रबार मन्त्री, सांसद र नेता कार्यकर्ताको साथमा गाडीको लावालस्करसहित कलैयाको जिल्ला समन्वय समितिको सभाकक्षमा पुगेका थिए ।

अमेरिकी ‘एन्टा’ भन्ने संस्थाको ब्यानर मुनि मुख्यमन्त्री गद्दीले राहत वितरण गरे । ती अमेरिकी संस्थाले प्रत्येक मृतक परिवारलाई ५० हजारको दरले राहत दिन प्रदेश सरकारलाई अनुरोध गरेपछि मुख्यमन्त्री त्यहाँ आफ्नो सरकारबाट पनि घोषणा गरिएको राहत लिएर पुगेका थिए । तर प्रदेश सरकारले घोषणा गरेको उक्त राहत सबै मृतक परिवारले भने पाउन सकेनन् । केवल १० जनाले मात्र पाए । बाँकी १८ जना रित्तै हात फर्कन पर्‍यो ।

१८ मृतक परिवारको साथमा प्रदेश सरकारले तोकेको मापदण्डअनुसारको कागजात नभएपछि उनीहरुले शुक्रबार मुख्यमन्त्रीबाट राहत पाउन सकेनन् । राहत पाउने आशमा गाउँबाट टन्टलापुर घाममा सदरमुकाम कलैया पुगेका मृतक परिवार रित्तै फर्किए । उक्त राहत पाउन मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणित, जन्म दर्ता, विवाह दर्ता, नागरिकता र हुरीले मृत्यु भएको प्रमाणित कागजात हुनुपर्ने प्रदेश सरकारले मापदण्ड बनाएको थियो ।

‘मुख्यमन्त्री, सांसद र नेताहरुको अनुहार मात्र हेरेर फर्कियौं, राहत पाएनौ,’ एकै परिवारका ४ जना गुमाएका फेटा गाउँपालिका–६, पुरैनियाका मृतकका आफन्त रुस्तम अन्सारीले भने, ‘हामीसित कागजात थिएन, एकदिन अघि मात्र राहत लिन जानु भनेर गाउँपालिकाबाट खबर पाएको थियौं । त्यसैले गएको हो ।’

कागजातहरुको साथमा मृतकको नजिकको नातेदारलाई लिएर पछि आउनु होला भनेर फर्काइदिएको उनले बताए । यसैगरी श्रीमती र बुहारी गुमाएका फेटा गाउँपालिका–६, पुरैनियाका फैजुल हक मियाँले बुहारी बबिया खातुनको राहत नपाएको बताए । ‘बुहारीको नागरिकता, विवाह दर्ता, मृत्य दर्ता थिएन, त्यसैले बुहारीको राहत दिएन,’ श्रीमतिको मात्र दियो,’ उनले भने, ‘सबै कागजात लिएर जनकपुर आउन भन्नुभयो ।’

‘२० परिवारलाई राहत दिन मुख्यमन्त्रीज्यूले ३ लाख दरको २० वटा चेक लिएर आउनु भएको थियो, तर त्यो पनि सबैलाई दिइएन, जम्मा १० मृतक परिवारलाई प्रति मृतक ३ लाखको दरले चेक हस्तान्तरण गर्नुभयो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्रले भने, ‘खासमा अमेरिकी संस्थाको राहत दिन पुग्नु भएको थियो, तर आफ्नै सरकारले घोषणा गरेको राहत पनि लिएर जाऔं भनेर आउनु भएको थियो । तर मृतक परिवारसँग कागजात अभावको कारण चेक ल्याइएको २० जनामध्ये १० जनाले मात्र पाए ।’ भीषण हुरीले यहाँ २८ जनाको मृत्यु भएको छ ।

मुख्यमन्त्री लालबाबू राउतले अमेरिकी संस्था ‘एन्टा’ को आग्रहमा राहत बाँडन कलैया आएपनि जिल्ला प्रशासन कार्यालका अधिकारीहरु बेखबर थिए । ‘मुख्यमन्त्री आउनुभएको जिल्ला प्रशासन कार्यालयलाई थाहा भएन,’ जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने, ‘हामीलाई राहत दिनेबारे कुनै जानकारी भएन, कसले पायो, कसले पाएन, थाहा भएन ।

कान्तिपुर दैनिकले लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार