राजनीति
राजविराज – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीमा शनिबार एक जनाको चिया पिउदै गर्दा मृत्यु भएको छ ।
सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४१२३ नंको ट्रकलाई सोही दिशाबाट आइरहेको ना५ख ७९३७ नंको बसले पछाडिबाट ठक्कर दिँदा उक्त बस अनियन्त्रित भई सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको चिया पसललाई भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
सो पसलमा चिया पिउन बसिरहेका सप्तरीको कञ्चनरुप नगरपालिका–८ बस्ने ६५ वर्षीय देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो दुर्घटनापछि बसमा सवार र चिया पसलमा बसिरहेका अन्य आठ घाइते भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।
घाइतेको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ भने चालक र ट्रक तथा बसलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।