राजनीति
पोखरा- दलितले गैर दलित विहे गर्दा समाजबाट बहिस्कारदेखि अपमान खेप्नुपरेका समाचार नयाँ होइनन् । तर दलित केटा र दलित केटीबीच विहे हुँदा समेत सोही समुदायबाट सामाजिक बहिस्कार हुन्छ भने समाजमा रहेको जातीय उत्पीडन कसरी अन्त हुनसक्छ ? १० दिनअघिमात्र परियार जातकी सिन्धुलीकी मोनिका परियार लाई बेहुली बनाएर भित्र्याएका रामेछाप मन्थलीका सबिन विश्वकर्मा अहिले नयाँ दाम्पत्य जीवनको शुरुआत गर्ने बेला समाजसँग यही प्रश्न गरिरहेका छन् ।
परिवारको सहमतिमै बिहे भए पनि विश्वकर्मा परिवारका नजिकका कतिपय नातेदार र आफन्तले सो बिहे बहिस्कार गर्न अन्य आफन्तलाई दबाव दिएको गुनासो उनले गरेका छन् । स्थानीय तहमा निर्वाचित दलित महिला जनप्रतिनिधि आफैं विश्वकर्मा परियारभन्दा माथिल्लो जात भएकाले सो बिहे भाँड्नुपर्छ भनेर लागेको आरोप छ ।
दलित समुदायमा दमाई (परियार)लाई कामी (विश्वकर्मा) भन्दा तल्लो जाति मानिन्छ र उनीहरुबीच पानी चल्दैन । सो मान्यतालाई तोड्दै सबिनले मोनिका परियारसँग बिहे गरेपछि उनका कतिपय आफन्तले ‘सामाजिक बहिस्कार’ गरेका हुन् ।रामेछाप जिल्ला मन्थली नगरपालिका–११ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका इमाडोलको बोझेपोखरी बस्दै आएका सबिन विश्वकर्माले सिन्धुली जिल्ला स्थायी घर भएकी मोनिका परियारसँग मागी विवाह गरेका हुन् ।केही समयदेखि प्रेमसम्बन्धामा रहेका यो जोडीले दुवै परिवारको सहमतिमा यही वैशाख ९ गते मागी विवाह गरेका हुन् ।
सबिनकी ठूलीआमा अर्थात दीपककी भाउजू सुन्तली विश्वकर्मा स्थानीय जनप्रतिनिधि नै हुन् । उनी भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडानम्बर ८ की निर्वाचित वडा सदस्यसमेत हुन् ।निर्वाचित जनप्रतिनिधिले आफूभन्दा तल्लो जातको बुहारी ल्याएको भन्दै अन्य आफन्तलाई समेत वैवाहिक कार्यक्रममा सरिक नहुन भनेकोप्रति दीपकको चित्त दुखाई छ ।