logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राजधानी किचलो : विराटनगरमा अनिश्चितकालीन आमहड्ताल आह्वान,मेयर समेत सडकमा


  • राजनीति
  • सोमबार, बैशाख २३ २०७६

विराटनर –प्रदेश न १ को राजधानी विराटनगरसँगै बृहत विराट विकास क्षेत्रभित्रका केही संरचनामा प्रशासनिक केन्द्र राखिने प्रस्ताव नेकपाले प्रदेशसभामा दर्ता गरेसँगै बिराटनगरबासी आन्दोलनमा उत्रिएका छन्।सघर्ष समितिले विराटनगरलाई राजधानी तोकेर संरचना पनि विराटनगरमा नै हुनुपर्ने माग राख्दै अनिश्चितकालीन आमहड्ताल आह्वान गरेको छ ।

आन्दोलनका क्रममा विराटनगर महानगरपालिका क्षेत्रमा बजार, उद्योग, शिक्षण संस्था, यातायात बन्द भएको छ ।विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनुपर्ने मागसहित शान्तिपूर्ण दबाव समिति गठन गरिएको छ।

भेषप्रसाद धमला संयोजक रहेको समितिमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, उद्योगी व्यवसायी, यातायात व्यवसायी, नागरिक समाज, विराटनगर महानगरपालिका, एन प्याब्सन, प्याब्सन लगायतका पदाधिकारी सदस्य रहेका छन्।
आइतवार प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशको स्थायी राजधानीको प्रस्तावमा पनि नेपाली कांग्रेस र नेकपाका सांसदहरूले नै विराटनगरलाई राजधानीको प्रस्ताव दर्ता गराएका छन् । नेकपा संसदीय दलको बैठकले विराटनगरलाई राजधानी प्रस्ताव गरेको छ भने ईटहरी, सुन्दर हरैंचा र विराटनगरलाई पायक पर्ने एकै ठाउँमा संरचना निर्माण गर्ने भनेको छ ।

त्यसैगरि, विराटनगर महानगरपालिकाले समेत राजधानीका लागि ५० रोपनी जमिन उपलब्ध गराउने जनाएको छ। महानगरपालिकाका मेयर भीम पराजुलीले भने, “राजधानी जमिन अभावकै कारण सारिन लागिएको हो भने बिराटनगर १९ मा महानगरले सरकारलाई ५० रोपनी जग्गा उपलब्ध गराउनेछ।”

आन्दोलनमा होमिएका महानगरका प्रमुख पराजुलीले राजधानीका रुपमा विराटनगरबाहेकको विकल्प मान्य नहुने बताए।आन्दोलनका क्रममा मानवीय सेवाका सवारी साधन, एम्बुलेन्स, दुधजन्य पदार्थको सवारी, वारुणयन्त्र, शववाहन, विवाह, सुरक्षा निकाय र प्रेसका सवारीमा कुनै रोक नलगाइएको समितिले जनाएको छ।

प्रदेश सभामा ९३ जना सांसदमध्ये दुईतिहाइभन्दा बढी सांसद ईटहरीको पक्षमा रहेको देखिएको छ । नेकपाका ८ जना सांसद मात्र विराटनगरलाई राजधानी बनाउनुपर्ने भन्नेमा छन् भने नेपाली कांग्रेसको आधा अर्थात् १० सांसद बिराटनगरलाई राजधानी तोक्नुपर्नेमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार