राजनीति
तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन् ।
पक्राउपर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेका अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले निजको साथबाट एक थान कटुवा पेस्तोल र १०० ग्राम गाँजासमेत बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं – बौद्ध–जोरपाटी सडकखण्डमा स्थानीय व्यवसायी र प्रहरीबीच झडप भएको छ । वर्षौंसम्म पिच नभएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको थियो । आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी र अश्रुग्यास ।

स्थानीयले बुधबारदेखि आन्दोलन थालेका हुन् । चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूरा नभएको भन्दै आन्दोलन थालेका स्थानीयका घरभित्रै प्रवेश गरेर प्रहरीले लाठी प्रहार गरेको छ । बिहीबार बिहान ८ बजेदेखि बाटो पिच हुनुपर्ने माग गर्दै बन्द गराए । बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका छन् ।
सोही क्रममा प्रहरीले अरुग्यास प्रहार गरेको थियो । प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएका छन् । आन्दोलनका कारण चुच्चेपाटी–जोरपाटी सडकखण्ड ठप्प छ । सवारी साधन चलेका छैनन् । जनता मार्न पाइँदैन, धुवाँ–धुलो उडाउने सरकार चाहिँदैन, ठेकेदारलाई कारबाही गरलगायतका नारा लगाउँदै आन्दोलनमा उत्रिएका छन् ।