राजनीति
१२ कात्तिक, सप्तरी- राजविराजबाट काठमाडौं जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु भएकाहरुको सम्झनामा आइतबार साँझ राजविराजमा दीप प्रज्वलन गरिएको छ ।
सप्तरी युथ नेपालको अगुवाइमा गजेन्द्र चोकमा गरिएको दीप प्रज्वलन, मौन धारण तथा मार्चपासमा प्रमुख जिल्ला अधिकारी, मेयर, उप-मेयरसहित सर्वसाधारणको उपस्थिति थियो ।
कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, उप-प्रमुख साधना झा, जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह, तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दाससहित बिभिन्न कार्यालयका प्रमुख, उद्योगी, व्यापारी, सर्वसाधारणहरुको व्याप्क सहभागिता रहेको थियो ।
मैनबत्ति प्रज्जवलन गरी एक मिनेटको मौन धारण गर्दै गजेन्द्र चोकदेखि जनआन्दोलन चोकसम्म मैनबत्ति बालेर मार्च पास समेत गरिएको थियो ।
यस्तै सप्तरी उद्योग बाणिज्य संघले गजेन्द्र चोकमै त्रिशुली दुर्घटनामा दिवगंत भएकाहरुको स्मरण गर्दै श्रद्वाञ्जलीसभाको आयोजना गरेको छ । संघका अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बिभिन्न व्यक्तिहरुले मन्तव्य व्यक्त गर्दै नेपालमा बढ्दो दुर्घटनालाई रोक्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
मृतकहरुको शोकमा आइतबार जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको थियो ।