काठमाडौं- नयाँ बसपार्क क्षेत्रमा हुने विकृति विसङ्गति अन्त्य गरिने भएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आज यहाँ आयोजना गरेको कार्यक्रममा शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न गोँगबु क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले गोँगबु क्षेत्रको विकृति अन्त्यको लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । “नयाँ बसपार्क क्षेक्रमा हुने अनैतिक त्रियाकलाप विरुद्ध प्रहरी कठोर रुपमा उभिन्छ”, उनले भने । परिसर प्रमुख सुवेदीले व्यवसायको नाममा विकृति फैलाउने जोकोहीलाई पनि कारवाही गरिने बताए ।
गोँगबु क्षेत्रका नागरिकले पीडकको पक्षमा भन्दा पीडितको पक्षमा आवाज उठाउनुपर्ने उनको भनाइ थियो । टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले मर्यादित भएर आफ्नो व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । “होटल व्यवसायको शिलशिलामा देखिएका कानूनी अप्ठ्यारा समाधानका लागि नगरपालिका सधैँ लाग्नेछ”, उनले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रको सुधारका लागि गोँगबु क्षेत्रमा मापदण्ड विपरीत सञ्चालन भएका बाटोका पसल हटाउनुपर्ने बताए । “नयाँ बसपार्क वरपर जथाभावी रुपमा सञ्चालन भएका टिकट काउन्टरलाई बसपार्कभित्र लैजान महासङ्घ लागिपरेको छ”, उनले भने।
काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पदम योङहाङ, नेपाल होटल व्यवसायी सङ्घका महासचिव गणेश ढकाललगायतले नयाँ बसपार्क क्षेत्रमा समस्याका रुपमा रहेको होटल गाइड हटाउन आफ्नो सङ्घ लागेको उल्लेख गरे ।
सामुदायिक सेवा केन्द्र गोँगबुका अध्यक्ष राकेश सिंहले नमूना गोँगबु निर्माणका लागि सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताए । कार्यक्रममा गोँगबु क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा सदस्यले मर्यादित रुपमा आफ्नो व्यवसाय सञ्चालन गरेर बसपार्कलाई नमूना बसपार्क बनाइनुपर्नेमा जोड दिए ।