logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मुख्यमन्त्री नमूना कृषि गाउँको रुपमा तनहुँ भानु बाँसखर्क छनोट, बासिन्दालाई मौरीसहित घार वितरण


  • राजनीति
  • बिहिबार, जेष्ठ २३ २०७६

पोखरा- मुख्यमन्त्री नमूना कृषि गाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ बाँसखर्कका बासिन्दालाई मौरीसहित घार वितरण गरिएको छ ।

गण्डकी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १५ घरधुरीलाई ६० घार वितरण गरेको हो ।स्थानीयवासीलाई आयआर्जनमा सघाउन र गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने उद्देश्यसहित करीब रु सात लाख बराबरको मौरीसहित घार वितरण गरिएको मन्त्रालयका कृषि प्राविधिक बन्दना पुलामीले जानकारी दिइन् । उनका अनुसार स्थानीयवासीलाई आधारभूत मौरीपालन तालीम पनि दिइएको थियो ।

मुख्यमन्त्री नमूना कृषि गाउँअन्तर्गत बाँसखर्कमा ५८ घरधुरी आबद्ध लालीगुराँस कृषक समूह गठन गरिएकामा ३३ कृषकलाई बाख्रापालन तथा घाँस व्यवस्थापन र प्लाष्टिक घर, थोपा सिँचाइ, मलचिङ प्रविधिको तरकारी खेती तालीमसमेत प्रदान गरिएको छ । छनोट भएको यस ठाउँलाई हरियाली बनाउन वृक्षरोपण कार्यक्रमलाई समेत तीव्रता दिइएको छ भने सरसफाइका लागि डस्टबिन वितरण गरिएको छ । पुलामीका अनुसार एभोकाडो, शितलचिनी रोपणको कार्यक्रम, नर्सरी व्यवस्थापनलगायत कामसमेत भइरहेको छ ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १० लाखको सहयोगमा यस ठाउँमा घरबाससमेत निर्माण भइरहेको छ । बाँसखर्क सामुदायिक होमस्टेका अध्यक्ष यामबहादुर गुरुङका अनुसार घरबासका लागि पाँच वटा घर निर्माण भइरहेको छ । त्यस्तै बाटोमा ढुङ्गा छाप्ने काम ८० प्रतिशत सकिएको उनले जानकारी दिए । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार गाउँलाई नमूना कृषि गाउँको रुपमा छनोट गरिएको थियो ।

छनोट भएका गाउँको ५० घरधुरीबाट एकएक सदस्य रहने गरी कृषि सहकारी वा समूहमार्फत् त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारी खेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेबाली उत्पादनका लागि प्रोत्साहित गरिने छ । छनोट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष रु ३० लाखका दरले अनुदान उपलब्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार