logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जातीय विभेद उन्मूलन दिवस: काठमाडौंका शासक तर्साउने गरी ‘बाग्लुङमा विशाल दलित सभा’


  • राजनीति
  • शुक्रबार, जेष्ठ २४ २०७६

बाग्लुङ- बाग्लुङको बुर्तिबाङमा राजधानी (काठमाडौं) मा हुने भन्दा पनि विशाल दलित आमसभा सम्पन्न गरिएको दलित अगुवाहरूले दाबी गरेका छन्।बाग्लुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा ५ हजारभन्दा बढी दलितको सहभागितामा सभा सम्पन्न गरिएको उनीहरूले बताएका छन्।छुवाछुतको व्यावहारिक अन्त्य माग गर्दै महाकाली–मेची यात्रा गरेका सञ्चारकर्मीसमेत रहेका अशोक दर्नालले दिएको जानकारीअनुसार जातीय विभेद उन्मूलन दिवसका अवसरमा २७ टोली नौमती बाजा र झाँकीसहित विशाल सभा सम्पन्न गरिएको हो।

क्षेत्रीय दलित सञ्जालको आयोजना र नगरपालिकाको सहयोगमा केही दिनअघि सम्पन्न सभामा नगरपालिकाका नौवटै वडाबाट विभेदविरुद्ध विगुल फुक्न सयौंका संख्यामा दलित सहभागी भएको उनले बताए।काठमाडौंलाई तर्साउने गरी सभा र जुलुस गरिएको उनको दाबी छ। जातीय भेदभावविरुद्ध नगरा घन्काउँदै जुलुसले बुर्तिबाङ बजार परिक्रमा गरेको थियो। दलित आन्दोलनका सन्दर्भमा यति ठूलो जनसागर केन्द्रमा समेत नदेखिएको दाबी गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले अग्रपंक्तिमा रहेर बजार परिक्रमा गरी विशाल जनसभालाई सम्बोधन गरेका थिए। अब नगरपालिकामा खरको छानो र छुवाछुत नरहने उनले दाबी गरे।उनी यस्ता मेयर हुन जसले अहिलेसम्म सरकारबाट तलबभत्ता लिएका छैनन्। बरु उनले ५ सय दलितगरिबका घरमा आफ्नै लगानीमा टिनको छाना हालिदिएका छन् भने ५८ शिक्षकलाई तलब दिएर राखेका छन्, क्याम्पसमा २१ लाख ५ हजार रुपैयाँको अक्षयकोष निर्माण गरेका छन्, प्रत्येक दलित बस्तीमा मोटरबाटो पु¥याएका छन्।

राष्ट्रिय दलित आयोगका निवर्तमान कार्यवाहक अध्यक्ष मञ्जित ताम्राकारले अहिले दलित आन्दोलन निकै कमजोर अवस्थामा रहेको बताए। उनले भने, ‘अब हामी एकजुट भएर आन्दोलनको आँधिबेहेरी सिर्जना गर्नुको विकल्प छैन।’कार्यक्रममा जातीय छुवाछुतको व्यावहारिक अन्त्यका लागि महाकाली मेची पैदल यात्रा गरेका होमराज आचार्य र अशोक दर्नाललाई सम्मान गरिएको थियो।

नेपाल खबरबाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार