राजनीति
तनहुँ- तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय तनहुँले भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारीको चितुवाको आक्रमणबाट ज्यान गएको जनाएको छ।
शुक्रबार साँझ बालिकालाई आफ्नै घरको आँगनमा खेलिरहेको बेला चितुवाले आक्रणम गरेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।चितुवाले बालिकालाई घरबाटै घिसार्दै लगेको थियो। उनको शव घरभन्दा ५०० मिटर पर खरबारीमा फेला परेको हो।
प्रहरीका अनुसार बालिकाको घाँटीमा चितुवाले चिथोरेको डाम छ। शरीरका अन्य भागमा कुनै चोट छैन।चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र एक बालिकाको मृत्यु भइसकेको छ।
चितुवाको आक्रमणमा परी मृत्यु भएका बालबालिकाका अभिभावकलाई सरकारले राहतबापत दश–दश लाख प्रदान गरिसकेको छ।गत माघमा भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा दुई वटा चितुवा मृतावस्थामा फेला परेका थिए।
पुनः चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्।