राजनीति
पोखरा- सामान्यत: दिल्ली–काठमाडौं उडानको समय १ घन्टा १५ मिनेट हो। मौसम खराब हुँदा वा विमानस्थलको एयर ट्राफिक जामका कारण कहिलेकाहीँ आधा घन्टादेखि ४५ मिनेट बढी लाग्नु स्वाभाविक हो।
तर, शुक्रबार दिउँसो दिल्लीबाट उडेको नेपाल एयरलाइन्सको एउटा जहाज उडान भरेको ४ घन्टा ३९ मिनेटमा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।
दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट ३ बजेर ५५ का लागि उडान तय भएको नेपाल एयरलाइन्सको नाइन एन एएलवाई कलसाइन भएको वाइडबडी जहाज ४ बजेर १० (भारतीय सयम) मिनेट जाँदा दिल्लीबाट काठमाडौं उडान भरेको थियो। फ्लाइट नम्बर २१८ को उक्त जहाज बेलुका ९ बजेर ५ मिनेट (नेपाली समय) जाँदा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो।
जहाज सामान्य अवस्थामा अवतरण भएको भए ५ बजेर ४५ मिनेटमा ल्यान्ड हुनुपर्थ्यो।
यसरी उक्त जहाजले ३ घन्टा २० मिनेट त आकाशमै चक्कर लगायो। उक्त समयमा काठमाडौंको मौसम खराबका कारण कुनै पनि जहाज उडान तथा अवतरण हुन सकेका थिएनन्।
विमानस्थल टावरले पनि जहाजलाई डाइभर्ट गर्न भनेको थियो। तर, जहाज कमान्ड गरिरहेका विदेशी पाइलटले जहाज आकाशमै घुमाइरेको टावर स्रोतको भनाइ छ। वाइडबडी जहाजले लगातर १२ घन्टासम्म उडान भर्न सक्छ। जहाजमा जोडी रोरी कमान्ड गरिरहेका थिए भने उनलाई कोपाइलट प्रशान्त श्रेष्ठले साथ दिएका थिए।
लामो समय आकाशमा होल्ड गराउनु यात्रुका लागि निकै जोखिम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेल बताउँछन्। ‘दिल्ली उडान जम्मा सवा १ घन्टाको हो’, उनले भने, ‘सवा ३ घन्टासम्म के कारणजे जहाज आकाश होल्ड गरियो? नजिकैको विमानस्थल लखनउ तथा दिल्ली गएर ल्यान्ड गर्न सकिन्थ्यो।’
यस विषयमा नेपाल एयरलाइन्स तथा जहाज उडान गर्ने पाइलट र विमानस्थल टावरसँग विस्तृत विवरण मागिने पोखरेलले बताए।