भारतको गोरखपुरमा सञ्चालित ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रालिले अवैध ‘नेटवर्किङ व्यवसाय’ गर्न रूपन्देहीका विभिन्न ठाउँमा चारवटा घर भाडामा लिएर सेल्टर बनाएको भेटिएको छ ।
उक्त कम्पनीमा ‘व्यवसाय गर्न’ भन्दै भारत जान लागेका केही युवा युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चार घरमा सेल्टर बनाइएको खुलासा भएको हो ।
बेलहिया नाका हुँदै भारत जाँदै गरेका आठ जनालाई नियन्त्रणमा लिएर सोधीखोजी गर्दा रूपन्देहीको सियारी गाउँपालिकामा थप चार जना रहेको खुलेपछि उनीहरूलाई फर्काइएको छ । प्रहरीले केहीलाई शुक्रबार अभिभावकको जिम्मा लगाएको छ भने केहीका अभिभावक आइनसकेकाले संरक्षणमै राखेको छ ।
उनीहरूसँगको सोधखोजकै क्रममा ओरियन्ट्स कम्पनीले व्यवसाय विस्तारका लागि रूपन्देहीमा चारवटासम्म घर भाडामा लिएर गतिविधि सञ्चालन गरेको पत्ता लागेको हो । ‘रूपन्देहीकै सियारी गाउँपालिका–७ हिरागन्जका थप दुई घर भाडामा लिएको भेटिएको छ,’ प्रहरी उपरीक्षक हृदय थापाले भने, ‘यसअघि कम्पनीले सिद्धार्थनगर–७ र देवदह–१० शंखरपुरमा दुई घर भाडामा लिएर सेल्टरका रूपमा प्रयोगमा ल्याएको भेटिएको थियो ।’
कम्पनीले आयुर्वे्दिक औषधि व्यवसाय गर्ने भन्दै नेपालका विकट र दुर्गम स्थानका युवालाई सञ्जालमा आबद्ध गराई व्यापार गर्दै आएको छ । ‘सञ्जाल तीव्र गतिमा अघि बढेको देखिन्छ’, थापाले भने, ‘यही ढंगले विस्तार हुँदै गए ठूलो परिमाणमा स्वदेशी पुँजी पलायन हुनेछ ।’ ठगिने नेपाली युवाको जमातबाट अनेक सामाजिक समस्या निम्तिने खतरा पनि उत्तिकै रहेको उनले बताए ।
महेन्द्रनगरका महेन्द्र माझी, काभ्रेका गोकुल रामदाम, रुकुम चौरजहारी–१४ का दिनेश वली, चौरजहारीकै नीरञ्जन थापा, करुणा पुनमगर, सुशीला खड्का, गीता केसी र गीता नामकै अर्की एक युवतीको समूह बिहीबार बिहान भारत जाँदै थियो ।
प्रहरीले सोधखोज गर्दा उनीहरूले ओरियन्ट्समा जान लागेको बताएका थिए । थप सोधखोज गर्दा जिल्लाभित्र भाडामा लिइएका थप दुई घरमा पनि केही व्यक्ति रहेको खुलासा भएको थियो । त्यसपछि सियारी गाउँपालिका–७ हिरागन्जस्थित गोमा अर्याल र अमुवास्थित अर्जुन भट्टराईको घर कम्पनीले भाडामा लिएर नेटवर्क विस्तारका लागि प्रयोगमा ल्याएको प्रहरीले फेला पारेको हो ।
रुकुमका शेरबहादुर बुढाथोकीले व्यापार गर्ने भनेर अर्यालको घर र अञ्जु मल्लले लोकसेवा तयारी कक्षा चलाउने उद्देश्यले भट्टराईको घर भाडामा लिएको प्रहरीको भनाइ छ । अर्यालको घरबाट रुकुम चौरजहारी–१ का खिमराज पुनमगर फेला परे ।
उनी कम्पनीमा जानका लागि त्यहाँ प्रशिक्षण लिन बसेका थिए । भट्टराईको घरबाट रुकुम सानोभेरी ४ की अञ्जु मल्ल, सल्यान कुबिन्डे–५ की जमुना राना र रुकुम सानोभेरीकी अञ्जना बीसी भेटिएका थिए । उनीहरू प्रशिक्षण सकेर सदस्य बन्न गोरखपुर जाने तयारीमा थिए ।
फर्काइएका मध्ये रामदामले उक्त कम्पनीमा ८ हजार भारु तिरेर एक साताको तालिम लिएका थिए । त्यसपछि १ लाख ५ हजार भारु तिरेर कम्पनीको सदस्य बनेका उनले कम्पनीबाट १५ हजार भारु बराबरको औषधि पाएका थिए । वली पनि तालिम लिई १ लाख २३ हजार भारु तिरेर कम्पनीको सदस्य बनेका थिए । उनले भने १२ हजार भारु बराबरको औषधि पाए ।
थापाले पनि तालिमपछि १ लाख ५ हजार भारु तिरेर सदस्य बनेको प्रहरीलाई बताए । उनले ३१ हजार भारु बराबरको औषधि पाएका थिए । पुनले पनि १ लाख १४ हजार भारु तिरेर तालिम लिएपछि १४ हजार भारु बराबरको औषधि पाइन् । उनीहरू दोस्रो पटकको तालिम र औषधि थप लिन जाँदै थिए । केसी र अर्की गीता ८ हजार भारु तिरेर तालिम लिएपछि सदस्य बन्न गइरहेको अनुसन्धानपछि प्रहरीले जनाएको छ ।
कान्तिपुर दैनिकमा खबर छ ।