logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विद्युत् प्राधिकरण तनहुँले समयमा विद्युत् महशुल नबुझाउने ८५५ ग्राहकको लाइन काटे


  • राजनीति
  • आइतबार, असार ८ २०७६

पोखरा- नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले समयमा विद्युत् महशुल नबुझाउने ८५५ ग्राहकको लाइन काटेको छ । वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५६६ को जेठ मसान्तसम्म महशुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटेको हो ।

समयमा विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटेर एक करोड ४१ लाख ३७ हजार ३५९ रुपैयाँ बक्यौता असुल गरिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । उनका अनुसार लाइन काटिनेमध्ये ७३७ ले बक्यौता रकम बुझाएका र उनीहरूको लाइन पुनः जोडिएको छ ।

गोशलीले भने, ‘मिटर रिडिङ भएको ६० औं दिनभन्दा बढी समयसम्म महशुल नतिर्ने ग्राहकको लाइन दैनिक रूपमा काटिएको छ । लाइन काटेर कारवाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् ।’

केन्द्रले चालु आवको जेठ मसान्तसम्म अनाधिकृत रुपमा विद्युत् प्रयोग गर्ने १२१ ग्राहकलाई कारवाही गरेको छ । कारवाही स्वरुप ६ लाख एक हजार ९८५ रुपैयाँ राजश्व सङ्कलन भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार मिटर वाईपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने र मिटरको सिल तोड्नेलाई कारवाही गरिएको हो । विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रेका मिटर फेर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ गर्ने, ठूला ग्राहकको टीओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने कार्य गरिएको छ भने जेठसम्म ३४१ बन्द तथा बिग्रेका मिटर, एक हजार १४९ ग्राहकको मिटर रिसिलिङ र एक हजार २ सय ग्राहकको मिटर छड्के निरीक्षण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार