राजनीति
दाङ – प्रतिनिधिसभा सदस्य तथा नेकपाका सचेतक पूर्वकमलरी शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २।६५ जीपीए प्राप्त गर्दै पास गरेकी छन्। १८ वर्ष कमलहरी बसेर पढ्न नपाएकी सांसद चौधरीले गत चैतमा एसईई परीक्षा दिएकी थिइन्।
सिम्बोल नम्बर ०५९९५४२ ‘यु’ रहेकी चौधरीले बी ग्रेडमा एसईई पास गरेकी हुन्। उनले २।६५ जीपीए प्राप्त गरेकी छन्। दाङको तुलसीपुरस्थित सेन्टर मावि केन्द्रबाट चौधरीले परीक्षा दिएकी थिइन्।
दाङको घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर निवासी ३८ वर्षीया सांसद चौधरीले बाल्यकालमा अरूको घरमा कमलहरी बस्दा पढ्न पाएकी थिइनन्। शान्ताले गाउँकै मावि गोग्लीमा दुई वर्षअघि कक्षा आठमा भर्ना गरेकी थिइन्।
शान्ताले तुलसीपुर उपमहानगरपालिका १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १० मा भर्ना भएर खुलातर्फबाट एसइई परीक्षा दिएकी हुन्।
सांसद शान्ता र उनकी १७ वर्षीया छोरी विनु चौधरीले एकै साथ एसईई दिएका हुन्। बिनुले काठमाडौंको आरुवारीस्थित सृजना बाल बोर्डिङबाट परीक्षा दिएकी हुन्। शान्ताका छोरा अनिल चौधरी जेभियर्समा कक्षा १२ मा अध्यनरत छन्।
दाङमा ११ हजार ६ सय ७२ जनाले परीक्षा दिएका थिए। दाङबाट ४४ वटा केन्द्रबाट एसईई परीक्षा भइरहेको छ। यस वर्ष दाङका ९१ सामुदायिक र ९२ संस्थागत विद्यालय एसईई परीक्षामा सहभागी भएका थिए।