logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पिप्ले बन्दिपुर सडक खण्ड रोक्न अदालतले किन दियो आदेश ?


  • राजनीति
  • शुक्रबार, असार १३ २०७६

पोखरा-तनहुँ जिल्ला अदालतले पिप्लेदेखि बन्दीपुरसम्म भइरहेको सडक विस्तार तत्कालका लागि रोक्न बन्दीपुर गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

गाउँपालिका–२ बस्ने सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिका, गाउँपालिकाका अध्यक्ष, वडा नं २ कार्यालय र वडाध्यक्षलाई विपक्षी बनाई दायर गरेका रिटउपर बुधबार सुनुवाइ गर्दै जिल्ला न्यायाधीश दीपक ढकालले सडक विस्तारकार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेका हुन् ।

गाउँपालिका–२ मा अवस्थित निवेदकको नामदर्ता र स्वामित्वमा रहेको जग्गा र भौतिक संरचना हटाई बाटो फराकिलो बनाउने क्रममा निवेदकको सहमति र मञ्जुरीविना निर्माणकार्य अगाडि बढाउँदा नागरिकको सम्पत्तिको अधिकारमा प्रतिकूल असर पुग्ने भएकाले सडक विस्तारकार्य तत्कालका लागि रोक्न जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ (१) बमोजिम अन्तरिम आदेश जारी भएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।

हाल निवेदकको सहमति र मञ्जुरीविना निवेदनमा उल्लिखित कित्ता जग्गा र सोमा भएका भौतिक संरचनामा असर पुग्ने गरी कुनै पनि निर्माणकार्य नगर्ननगराउनु भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी भएको छ । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले र अधिवक्ता भानुभक्त सुवेदी तथा विपक्षीको तर्फबाट अधिवक्ता रामचन्द्र न्यौपानेले अदालतमा बहस गरेका थिए ।

सडक विस्तारकार्य तत्कालका लागि रोकी सोको सूचना विपक्षीलाई दिन र लिखित जवाफ पेश भएपछि प्रस्तुत निवेदन पूर्ण सुनुवाइका लागि पेश गर्न अदालतले आदेश गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले सडक विस्तारको क्रममा कुनै व्यक्तिको सम्पत्तिमा हस्तक्षेप नगरेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार