राजनीति
पोखरा- मस्जिदको सेफ्टी ट्यांकीमा निसासिएर शनिबार चार जनाको मृत्यु भएको छ। तीन घाइते छन्। मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियामा रहेको मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निसासिएर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार मृत्यु हुने सुनवर्षी–९ का २० वर्षीय मोहम्मद फिरोज आलम, २५ वर्षीय सहनवाद आलम, २२ वर्षीय ओसिव आलम र ४५ वर्षीय कपिल आलम रहेका छन्। मृत्यु हुनेमध्ये सहनवाद र कपिल बाबु छोरा हुन्।
स्थानीय मुस्लिम अगुवा महताव आलमका अनुसार केही वर्ष पुरानो मस्जिदको सेफ्टी ट्यांकी निर्माणको काम भइरहेको थियो। एक महिनाअघि चारैतिर बन्द गरेर हावा पास हुन नसक्ने गरी ट्यांकीको ढलाई गरिएको थियो।
ट्यांकीको सेटिङ खोल्न सबैभन्दा पहिला सहनवाद आलम छिरेका थिए। छिर्नसाथ उनी ढलेपछि बचाउन ओसिव गएको र उनी पनि ढलेपछि फिरोज छिरेको महतावले बताए। १२ फिट गहिरो ट्यांकी भित्र छिरेका तीनैजना बेहोस हुँदै ढलेपछि बचाउन भन्दै अन्तिममा कपिल छिरेका थिए।
महतावका अनुसार चारैजना बेहोस हुँदै ढलेपछि त्यहाँ जम्मा भएका स्थानीयले अरुलाई छिर्न दिएनन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार चारै जनालाई बेहोस अवस्थामा सेफ्टी ट्यांकी भित्रबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल रंगेली पठाइएको थियो।
रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि चारै जनालाई थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर ल्याइएको थियो। उनीहरुको उपचारकै क्रममा साँझ मृत्यु भएको प्रहरीले बताएको छ।
उनीहरुलाई बचाउने प्रयासमा रहेका अन्य तीनजना बेहोस भएका थिए। बेहोस भएका ४० वर्षीय दाउद मियाँ, ४८ वर्षीय हेमन्त मियाँ र ४० वर्षीय डोम्राहा मियाँ रंगेली अस्पतालमा उपचारपछि घर फर्किएका छन्।
प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु भएको बताएको छ। मृतकका आफन्त र स्थानीय बासिन्दाले उपचारमा ढिलाई गरेको भन्दै रंगेली अस्पताल परिसरमा केही बेर प्रदर्शन गरेका थिए।