logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

भू–माफियाले कब्जा गरेपछि स्थानीय बासिन्दा आन्दोलित


  • रासस
  • सोमबार, असार १६ २०७६

जनार्जन खत्री, सर्लाही-सर्लाहीको बरहथवा नगरपालिका हजारियामा छ बिघा १४ कठ्ठा जग्गा भू–माफियाले कब्जा गरेपछि त्यसको विरोधमा स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

जग्गा कब्जाको विरोधमा स्थानीयले बरहथवास्थित नगरपालिकाको कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयमा उक्त जग्गाको दर्ता खारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । हजरियावासीको आन्दोलनले बरहथवामा रहेका विभिन्न सरकार कार्यालयको केही दिनदेखि सेवा प्रभावित भैरहेको छ ।

बरहथवा नगरपालिका ४ का वडाध्यक्ष लखेन्द्र महतोले सोही ठाउँका जगदेव महतोलाई सरकारी स्वामित्वमा रहेको जग्गा पास गरेपछि स्थानीयबासी आन्दोलित भएका हुन् । स्थानीयले महतोलाई सिफारिस गरेको सार्वजनिक जग्गाको दर्ता खारेज नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

साविक हजरिया गाविस ७ हालको बरहथवा नगरपालिका ४ खैरा गाउँमा रहेको छ बिघा १४ कठ्ठा जग्गा स्थानीयले वर्षौदेखि जोतभोग गर्दै आएका छन् । अहिले एकाएक अर्काको नाममा लालपूर्जा बनेपछि त्यसको विरुद्धमा आन्दोलनमा उत्रिनु परेको स्थानीय कुलबहादुर कार्कीले बताउनुभयो । जनप्रतिनिधिको गलत सिफारिसका कारण बस्ती नै प्रभावित हुने अवस्था आएको छ, कार्कीले भन्नुभयो, भू–माफियासँगको साँठगाँठमा गलत काम भएको छ ।

२०६२ साल कात्तिक १९ गते किता नं. ३२८ को ५ बिघा १० कठ्ठा र कित्ता नं ३१४ को १ बिघा ४ कठ्ठा जग्गा जगदेव महतोको नाममा लालपूर्जा बनेको देखिन्छ । मालपोत श्रेस्तामा पनि छ । तर कम्प्यूटर अडिटमा जगदेब महतोको नाममा जग्गा दर्ता भएको देखिदैन् । जगदेव महतोको नाममा उक्त जग्गा कहाँबाट कसरी आयो कुनै अभिलेख नरहेको मालपोत कार्यालय बरहथवाका प्रमुख बिन्देश्वर महतोले बताउनुभयो । उहाँका अनुसार उक्त जग्गाको कित्ता नम्बर ३२८ को क्षेत्रफल ७ बिघा १४ कठ्ठा १५ धुर सरकारी स्वामित्वमा रहेको छ ।

मालपोत प्रमुख महतोले सरकारी जग्गा व्यक्तिको नाममा पुग्नुमा आफूहरुको संलग्नता नरहेको दावी गर्नुभयो । यो कसरी भयो हामी पनि आश्चर्यमा परेका छौँ, यसमा हाम्रो कुनै गल्ती छैन्, महतोले भन्नुभयो ।

बरहथवा नगरपालिका–४ का अध्यक्ष लखेन्द्र महतोले पनि जगदेव महतोलाई कुनै किसिमको जग्गासम्बन्धी सिफारिस नगरेको दावी गर्नुभएको छ । जगदेव महतोले गत बिहिवार अर्कै व्यक्तिलाई जग्गा बेच्न खोज्दा स्थानीयले जग्गा कब्जा भएको थाहा पाएका थिए । महतोको नाममा पुगेको जग्गामा हाल २० घरधुरी बस्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार