logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बाढी काे चपेटामा ३वटा प्रदेश कहाँ कति क्षति ? हेर्नुस्


  • राजनीति
  • शनिबार, असार २८ २०७६

बाढीपहिरोको बढी चपेटामा तीनवटा प्रदेश परेका छन्। प्रदेश १, २ र ३ मा जनधनको क्षति भएको छ। पहाडी भेगमा बाढीपहिरो र तराई–मधेसमा डुबानको समस्या देखिएको छ।

प्रदेश १ को मोरङमा डुबान हुँदा शुक्रबार साँझसम्म ७ सय ५५ परिवारका ३ हजार ५ सयभन्दा बढी जना प्रभावित बनेका छन्। प्रदेश राजधानी रहेको विराटनगर महानगरसहित बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिका बढी प्रभावित भएको प्रमुख जिल्ला रमेशकुमार केसीले बताए। उनका अनुसार सुकुम्बासी बस्तीका सबैजसो घरमा बाढी पसेर डुबान भएको छ। कटहरी–१, २, ३, ४ वडाका अधिकांश बस्ती जलमग्न रहेको गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताए। उनका अनुसार कटहरी र धनपालथानको सिमाना भएर बग्ने लोहन्द्रा खोलाको बाढी बस्तीतिर पसेपछि धेरै घर डुबानमा परेका छन्। बाढीले घरै बगाउन लागेको कटहरी–३ का उमेशकुमार साहले बताए। परिवारका सदस्य खुला ठाउँमा बसिरहेको उनले सुनाए।

सुनसरीको हरिनगर–५ बसन्तपुरका ३५ परिवार विस्थापित भएका छन्। उनीहरूलाई उद्धार गरी प्रहरीले स्थानीय विद्यालयमा सुरक्षित राखेको छ। दुहबी नगरपालिकामा कोसी राजमार्गअन्तर्गत पर्ने बूढी खोलाको पुल कटानका कारण जोखिममा परेको छ। पाँचथरका हिलीहाङ गाउँपालिका अमरपुरस्थित अस्थायी प्रहरी चौकी, मिक्लाजुङ–५ कुरुम्बाको एक घर पहिरोको जोखिममा परेका छन्। कुरुम्बामा शुक्रबार बिहान पहिरोले टीकाराम लावतीको घर चर्किएको वडाध्यक्ष अबिसन लावतीले बताए। ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ खिजीफलाटे बजारमा वर्षाका कारण धनवीर तामाङको घर भत्किएको छ। वर्षात्का कारण सिद्धिचरण राजमार्गसहित सबै ग्रामीण सडक ठप्प छन्। बिहीबार साँझदेखि सदरमुकामबाट गाउँ तथा अन्य जिल्लातर्फ जाने सवारी साधन चलेका छैनन्। मध्यपहाडी राजमार्ग दर्जनभन्दा बढी ठाउँमा अवरुद्ध छ। यात्रु अलपत्र परेका छन्।

उदयपुरको त्रियुगा नदीले केन्द्रीय प्रसारण लाइनको पोल तथा तार बगाएपछि विद्युत् अवरुद्ध भएको छ। ओखलढुंगा र खोटाङमा बिहीबार साँझबाट विद्युत् आपूर्ति भएको छैन। धनकुटामा चार दिनयता लगातार परेको वर्षाले एक विद्यालय र ग्रामीण सडकमा क्षति पुगेको छ। सहिदभूमि–३ स्थित अजम्बरी प्राविको भवन भत्किँदा पठनपाठन रोकिएको छ। सहिदभूमिकै मूलघाटबाट पोखरे जोड्ने सडकका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। ताप्लेजुङको तमोर र मैवा नदी किनारस्थित दोभान बजारका तीन घर पहिरोको जोखिममा परेका छन्। मेरिङ्देन–३ स्थित बजारका सुकवीर लिम्बूको पाली पहिरोले बगाएपछि परिवारलाई अन्यत्र सारिएको छ।

झापाका नदीहरूमा पानीको बहाव बढेको छ। कन्काईमा बहाव सतर्कता तहनजिक छ। कन्काईको मैनाचुलीबाट भाकुरमारीसम्मका १ हजार ८ सय ५६ परिवार उच्च जोखिममा छन्। मेची नदीको बहाव बढेकाले भद्रपुर–३ को सन्थाल बस्ती डुबानमा परेको छ। बिर्तामोडमा अदुवा खोलामा बहाव बढेको छ।

तीन दिनदेखिको अविरल वर्षाका कारण प्रदेश २ को जनजीवन प्रभावित भएको छ। धनुषा र सिरहामा कमला, महोत्तरीमा रातु, जङ्हा र ओक्सी, रौतहटमा लालबकैया र बागमती नदीको बहाव बढेर बस्तीसम्म पुगेको छ। सप्तरीको सप्तकोसी, पर्साका गण्डक, औरिया, भलुवाही, सिक्टा र तिलावे नदीमा आएको बाढीले धेरै क्षति पु¥याउने सम्भावना बढेको छ। बाढीमा फसेका सर्वसाधारणलाई उद्धार गर्न प्रहरी खटिएका छन्।

महोत्तरीका ४० भन्दा बढी गाउँ डुबानको जोखिममा परेका छन्। कमला नदीको पूर्वी किनाराका सिरहा–६ का बसपिटा र कल्याणपुर–१२ का बेल्हाबाट सारश्वर गाउँमा बाढी पस्दा सयभन्दा बढी घर डुबानमा परेका छन्। सिरहाको कल्याणपुर–५ स्थित कमला नदीको टापुमा चार जना फसेका छन्। उनीहरू शुक्रबारसम्म बाहिर निस्किन सकेका छैनन्। एक जनालाई धनुषा सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ। निर्दना गाउँको रसिन्द्र दास, सुकदेव दास, कञ्चन मण्डल, कुनमा महतो र उनकी श्रीमती गाईवस्तु चहार्न कमला नदी टापुमा बनाएको गोठमा पुगेका थिए। बाढी आएपछि उनीहरू बाहिर आउन नसकेको सिरहा प्रहरी प्रवक्ता डीएसपी अपिलराज बोहराले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार