राजनीति
दमौली : भानु नगरपालिकामा दुई बालबालिकाको ज्यान गएको घटना सेलाउन नपाउँदै फेरि अर्का एक बालकमाथि चितुवाले घातक हमला गरेको छ। भानु नगरपालिका– २ जोगीगाडामा आइतबार साँझ चितुवाले स्थानीय ६ वर्षका होमराज सुनुवारलाई आक्रमण गरी घाइते तुल्याएको छ।
बाबुआमा दुवै साथमा नभएका बालकको चिन्ताजनक अवस्थामा भरतपुरमा उपचार भइरहेको छ।
यसअघि भानुमै फरकफरक वडामा दुई बालबालिकाको यसै वर्ष ज्यान लिएको तथा अर्का एकलाई घाइते बनाएकामा फेरि यसै वर्ष अर्का बालकमाथि घातक हमला भएपछि स्थानीय त्रसित भएका हुन्। यसअघि स्थानीयले आक्रोशमा एक चितुवाको ज्यान लिएका थिए। तर फेरि पनि घटना दोहोरिएपछि स्थानीयमा त्रास निकै बढेको छ।
वन डिभिजन प्रमुख केदार बरालले धेरै बालबालिकाको ज्यान जाने घटना भएकाले अब यसलाई दोहोरिन नदिन विशेष उपाय अपनाउने बताए। ‘धेरैको ज्यान गइसक्यो। विगतमा पनि सूक्ष्म अनुसन्धान भएकै हो’, उनले भने, ‘अब आवश्यक कदम चाल्नेछौं।’ उनले स्थानीय प्रशासन र नगरपालिकासँग समन्वय गरेर घटना रोक्न कदम चालिने बताए।
जिल्ला सुरक्षा समितिले पनि चितुवालाई नियन्त्रणका लागि आवश्यक हरसम्भव उपाय अपनाउन कदम चाल्ने तयारी गरिरहेको छ। चितुवाको निगरानी र आवश्यक परे गोली हानेर नियन्त्रणमा लिने वा मार्नेसम्मको रणनीति अख्तियारी हुने स्रोतको भनाइ छ। प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले थप मानिसको क्षति नहुने गरी आवश्यक कदम चालिने बताए। घटना भएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
विगतमा जस्तै यसपटक पनि चितुवाले साँझका बेला आक्रमण गरेकाले घटना पुरानै प्रकृतिको देखिएको छ। साँझै बाल बालिकामाथि आक्रमण भएकाले त्रास घटाउनका लागि यथासम्भव उपाय अपाइनुपर्ने भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए।