राजनीति
पोखर- बागलुङको बडिगाडमा रहेको कृत्रिम ताल अविरल वर्षासँग आएको बाढीका कारण आज फुटेको छ।
गत वर्ष बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामाबनेको तुरतुरे ताल सोमबार आज बिहान फुटेको हो। बडीगाड खोलामा आएको बाढीका कारण बिहान ४ बजे ताल फुटेको हो।
बागलुङ र गुल्मीका तटीय क्षेत्रका बासिन्दा ताल फुट्ने त्रासले रातभर जाग्राम बसेका थिए। ताल फुटेपछि ७५ प्रतिशत पानी बगेको स्थानीयले बताएका छन्।
गत वर्ष भदौ २९ गते राति खोलामाथिबाट तुरतुरेमा झरेको चट्टानी पहिरोले बडिगाड खोला थुनिएर ताल बनेको थियो। उक्त ताल १ हजार २ मिटर लामो र सय मिटरभन्दा गहिरो छ।
ठूलो बाढी आए पनि ताल बिस्तारै खोलिँदै बगेकाले कुनै क्षति भने पुगेको छैन। ताल फुटेपछि नजिकैको सडक बगाएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अवरुद्ध भएको छ।
जिल्लाकाे पश्चिम बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिकालगायत ठाउँका बासिन्दा यातायात सेवाबाट वञ्चित भएका छन्।