राजनीति
पोखरा-स्याङ्जामा स्थानीय जनता आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका एक शिक्षक एक हप्तादेखि बेपत्ता भएका छन्। यही साउन २२ गते बुधबार बिहानदेखि कालिगण्डकी गाउँपालिका–४ बिर्घाका ५२ वर्षीय कुलानन्द पाण्डे बेपत्ता भएका हुन ।
प्रापत जानकारी अनुसार कालिगण्डकी नदिमा डुबेर बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ। स्वर्गीय आमाको श्राद्धको लागि एकछाकी बस्ने भन्दै पाण्डे सोही वडाको कालिगण्डकीस्थित अरुवाघाटमा नुहाउन गएका थिए। बिहानै गएका कुलानन्द साँझसम्म घर नफर्केपछि परिवार सहित स्थानीयले खोजी गर्दा उनी फेला नपरेको प्रहरीले जनाए। यद्यपि उनले लगाएको कपडा, चप्पल र जल ल्याउन लगेको बोतलसमेत अरुवाघाटको किनारमा रहेको ढुंगामाथी फेला परेको छ।
स्वास्थ्य अवस्था कमजोर रहेका उनी नुहाउने क्रममा नदीमा डुबेको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्। स्थानीय र प्रहरीले समेत खोजी गर्दा उनलाई फेला पार्न नसकेपछि पोखराबाट शसस्त्र प्रहरीको गोताखोर टोली समेत आएको थियो। गोताखोरको टोलीले खोजी गर्दापनि शिक्षक कुलानन्दको अवस्था पत्ता लाग्न नसकेको बिर्घा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खड्ग मल्लले बताए। गोताखोरको टोलीले अरुवाघाटदेखि रिडी, रानिघाट हुँदै बारीचौरसम्मको कालिगण्डकी नदिमा खोजेको थियो। स्थायी शिक्षक कुलानन्दले स्थानीय जनता आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए। उनको अन्य ठाउँमा पनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
स्याङ्जामा माछा मार्ने क्रममा खोलामा डुबेर दुइजनाको मृत्यु
सोमबार राति स्याङ्जामा माछा मार्ने क्रममा खोलामा डुबेर दुइजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चापाकोट नगरपालिका–५ का ५५ वर्षीय वीरबहादुर थापा र सोही ठाउँका ४५ वर्षीय निरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए।
उनका अनुसार सोमबार अपरान्ह चारबजेतिर उनीहरु गाउँ नजिकै रहेको ज्याग्दी खोलामा माछा मार्न गएका थिए। सोही क्रममा खोलामा डुबेर मृत्यु भएको हो। घट्ना बेलुकीपख भएपनि आफुहरुले राति करिब ९ बजे खबर पाएको प्रहरी उपरीक्षक लम्सालले बताए। उनीहरुको शब पोष्टमाटम गरेर अहिले आफन्तलाई बुझाउने तयारी भइरहेको छ।
मृतक निरबहादुर आले स्थानीय राम मन्दिर माविका शिक्षक समेत रहेको बुझिएको छ। पाल्पा र स्याङजाको संगम बनेर बगेको कालीगण्डकी नदिमै मिसिएको छ ज्याग्दीखोला।