पोखरा- प्युठान जिल्लाको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई आइतबार प्रहरीले हिरासतमा लिएको छ । दुई छोरीका पिता गिरी आफ्नै श्रीमतीले दिएको उजुरीका आधारमा समातिएका हुन् ।
बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको हो । प्युठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कार्कीले दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।गौमुखी गाउँपालिका–४ पूजा निवासी अध्यक्ष गिरीका श्रीमती र दुई छोरीहरु छन् ।पारिवारिक बेमेलका कारण उनी ०६७ सालदेखि नै श्रीमती र छोरीहरुसँग अलग्गै बस्न थाले ।अध्यक्ष विष्णु श्रीमतीसँग अलग्गै बस्न थालेको लगभग १० वर्ष बिते पनि उनीहरुवीच कागजीरुपमा छोडपत्र भएको छैन । छोडपत्र नभएकै अवस्थामा अध्यक्ष गिरी प्युठानकै अर्की एक युवतीसँग गहिरो प्रेममा डुबेका थिए ।गाउँपालिका अध्यक्ष गिरीले आफूसँग प्रेममा परेकी युवतीसँग कोठाभित्र रहँदाका अर्धनग्न तस्वीरहरु आफ्नो मोबाइलमा खिचेर राख्ने गरेका थिए । साथै उनीहरुवीच फेसबुक च्याटमा प्रेमका अन्तरंग कुराकानीहरु हुने गरेका थिए ।
नेपाली कांग्रेस प्युठानका नेतासमेत रहेका विष्णुले भने आफूमाथि लागेको आरोप सत्य नभएको र यसको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने पनि बताएका छन् ।
आफूले बहुविवाह नगरेको अध्यक्ष गिरीले बताउँछन् । उनले भने, ‘बिहे गरेको भए त सबैलाई थाहा दिएर गर्थें नि, बिहे पनि लुकाउने कुरा हो र ?’च्याटमा भएको कुराकानीमा गाउँपालिका अध्यक्ष विष्णुलाई युवतीले ‘बुढो’ भनेर सम्बोधन गरेकी छन् । उनले विष्णुलाई मोबाइलमा खिचेका तस्वीरहरु डिलिट गर्न भनेकी थिइन् । तर, उनले ती तस्वीर सार्वजनिक नहुनेमा ढुक्क रहन प्रेमिकालाई भनेका थिए ।
अन्ततः फेसबुकको सोही सम्वादले उनीहरुलाई धोका दियो ।
स्थानीय चुनावमा गौमुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै गिरी युवतीसँग प्रेममा फसेका थिए । यसवीचमा उनीहरु यति नजिकिए कि बच्चा पाउने कि नपाउने भन्ने विषयमा समेत फेसबुकको म्यासेन्जरबाटै छलफल गर्न थाले । च्याटमा विष्णुले परिवारनियोजन गरे पनि बच्चा जन्मन सक्ने भन्दै प्रेमिकालाई आश्वस्त बनाउन खोजेका थिए ।
बुटवलको एक पोलिक्लिनिकमा जागिरे ती युवतीलाई विष्णुले मरन्ठानाका एक व्यक्तिको बन्ध्याकरणपछि पनि बच्चा भएको उदाहरण दिएका थिए ।
अनलाइन खबरवाट साभार