logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सुरक्षित यात्राको शुभकामनासहित सवारी चालकलाई प्रहरीको फूलमाला र शुभकामना


  • आश तमु
  • आइतबार, असोज १२ २०७६

आश तमु, पोखरा- समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यही असोज-१२ गते लामो तथा छोटो दुरीका सवारी साधनहरुमा यात्रा गर्ने सम्पूर्ण यात्रुहरुको सुरक्षित यात्रालाई मध्यनजर गर्दै पोखरामा पनि सडक सुरक्षा सम्बन्धी एक वृहत कार्यक्रम सन्पन्न भएको छ ।
“सडक सभ्यता हाम्रो चाहाना, सुरक्षित यात्राको सबैमा शुभकामना” भन्ने मुल नाराका साथ गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उहाँले लामो दुरीका सार्वजनिक सवारीका चालक तथा सह-चालकहरुलाई माला लगाई शुभकामनाका साथ यात्रुहरुलाई सभ्य एवम् सुरक्षित तवरले गन्त्वयमा पुर्याउन चालकहरुलाई आग्रह समेत गर्नुभएको छ ।
चाडपर्वहरुलाई लक्षित गरी सवारी साधनमा हुने विभिन्न अवाञ्छित गतिविधिहरु साथै सडक दुर्घटनालाई न्यूनिकरण गर्न गरिएको उक्त कार्यक्रममा अन्य प्रहरी अधिकृतहरुले समेत चालक तथा सहचालकलाई सुरक्षित एवम् सभ्य यात्रा बारे सहजीकरण गर्नुभएको हो ।
शुभकामना एवम् सहजीकरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक घिमिरेले चाडपर्वको अवसरमा यात्रुहरुलाई अनावश्यक दुख दिने, बढी भाडा लिने, अलपत्र पार्ने तथा असभ्य व्यवहार गर्नेहरुलाई कडा कारवाही हुने बताउँदै यस्तो भए तत्कालै नजिकको प्रहरी कार्यालय वा प्रहरीको १००वा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गरी जानकारी गराउँनुहुन समेत सम्पुर्णमा आग्रह गर्नुभएको छ ।
पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सुरक्षित यात्रा सम्बन्धी जानकारी तथा चालक एंव यात्रुले पालना गर्नपर्ने नियमहरु सहितको सचेतना मुलक पर्चा पम्पलेट समेत वितरण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार