logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

म्याग्दी हिस्तानको औलागाउँमा चितुवा आतङ्क


  • राजनीति
  • बिहिबार, असोज १६ २०७६

म्याग्दीको अन्नपूर्ण गाउँपालिका हिस्तानको औलागाउँमा चितुवाले आतङ्क मच्चाएको छ । चितुवाको आक्रमणबाट एक हप्तायता चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन् । दैनिकजसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ ।

चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएको स्थानीयवासी यामप्रसाद पुर्जाले बताए । चितवाले टीका घताने र धनकुमार विकको खोरबाट दुई दुई बाख्रा र दुई कुकुर मारेको छ । सन्देश रञ्तिजाको १४ र यामप्रसाद रञ्तिजाले पालेका छ कुखुरा खोरभित्रै मारेको छ ।

चितवाको आक्रमणको डरले स्थानीयवासी समसाँझै घरभित्र ढोका थुनेर बस्न थालेका छन् । घरबाहिरको शौचालय जानलाई समेत त्रास भएको छ । बाख्रा कुखुराको खोर मर्मत गरेका छन् । मानिसलाई समेत आक्रमण गर्ने खतरा बढेपछि गाउँलेले सतर्कता अपनाएका छन् ।

एक्लै हिँडडुल नगर्ने, रातिको समयमा घर बाहिर ननिस्कने, कुखुरा, बाख्रालाई सुरक्षित ठाउँमा सारेका छन् । जङ्गलमा आहरा पाउन छाडेपछि चितुवा गाउँ पस्ने गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार