राजनीति
गोरखा– पर्वतका अनिश थापामगरले यस वर्षको लिगलिगे दौडको उपाधि जिते सगै लिगलिगे राजा घोषित भएका छन ।
दशौँ लिगलिगे दौडको उपाधि जितेका अनिशको यो चौथो उपाधि हो । भारती सेनामा कार्यरत उनले यसअघि २०७१, २०७३ र २०७५ मा पनि उपाधि जितेका थिए ।
इतिहासमा हरेक वर्षको विजयादशमीको दिन लिगलिगकोटमा दौड प्रतियोगितामार्फत राजा छान्ने परम्पराको सम्झना गर्दै लिगलिगे दौड हुने गरेको छ । मर्स्याङ्दी र चेपे नदीको दोभान चेपेघाटबाट लिगलिगसम्मको १३।८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेन्डमा पार गरेर थापा मगर प्रथम भएका हुन्।
उनले नगद ६० हजार एक सय, श्रीपेच, पगरी, ट्रफी, प्रमाणपत्र पुरस्कार पाएका छन् । ‘लिगलिगे राजा’ बनेका अनिशलाई राष्ट्रियसभाका सदस्य सुरेन्द्रराज पाण्डेले श्रीपेज लगाउँदै पुरस्कार हस्तान्तरण गरे ।
प्रथम भएकाअनिशलाई एक रात लिगलिगे राजाको रुपमा राख्ने चलन छ । प्रतियोगिता सकिएपछि राजालाई मोटरमा राखेर नगर परिक्रमा गराइन्छ । यस वर्षदेखि लिगलिकोट राजदूतको ब्याचसमेत उपलब्ध गराइएको छ ।