logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बालबालिकाले चिनियाँ भाषामा सीको स्वागत गरेपछी….


  • रासस
  • आइतबार, असोज २६ २०७६

Chinese President Xi Jinping (C) receive garlands from girls as Nepal's president Bidhya Devi Bhandari (R) looks on during a welcome ceremony at the Tribhuvan International Airport in Kathmandu on October 12, 2019. - Nepal rolled out the red carpet on October 12 for China's President Xi Jinping as authorities rounded up Tibetans to prevent protests during his stay. Xi is making the first state visit by a Chinese leader to Nepal in 23 years following his two days of talks in India. (Photo by Bikash KARKI / POOL / AFP) (Photo by BIKASH KARKI/POOL/AFP via Getty Images)

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली मौलिक पोशाकमा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले चिनियाँ भाषामा स्वागत गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङ प्रफुल्लित भए। आफ्नै भाषामा स्वागत पाउँदाको खुशी उनको अनुहारमा झल्किन्थ्यो।

गुन्यू र चोली लगाएका बालिका र नेपाली टोपीसहित दौरासुरुवालमा सजिएका बालकले एक हातमा नेपालको र अर्को हातमा चिनियाँ झण्डा फहराएर राष्ट्रपति सीलाई स्वागत गरेका थिए। बालबालिकाका गतिविधि निकै चाख लगाएर हेरेका सीले मन्द मुस्कान छर्दै हात उठाएर बालबालिकाको स्वागत ग्रहण गरेका थिए।

विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिँदै गर्दा रातो गलैँचाबाटै उनले नेपालको पूर्वदेखि पश्चिमसम्मको प्रतिनिधित्व हुने मौलिक पोशाकसहितको कलाकारको नृत्यलाई चाखपूर्वक अवलोकन गरे। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उदीयमान महाशक्ति राष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्र प्रमुखको २३ वर्षपछि भएको नेपालको राजकीय भ्रमण ऐतिहासिक र नेपालीपन बनाउन विशिष्ट कक्षभित्रै सरकारले नेपालको मौलिक संस्कृति झल्कने नृत्य प्रस्तुत गरेको हो।

उनको स्वागतमा कलाकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कौरा, थारु नाच, सुर्खेती झ्याउने, साकेला, तराईको झिंझिया, काठमाडौँको नेवारी र कर्णालीको हुड्केली नाच प्रस्तुत गरिएको थियो। उनलाई अतिविशिष्ट कक्षाको मूल ढोकामै पञ्चकन्याले पुष्पहारले स्वागत गरेका थिए।

उनको स्वागत र सम्मानका लागि आज बिहानैदेखि त्रिभुवन विमानस्थलको चहलपहल बेग्लै थियो। उनको स्वागतलाई भव्य बनाउन त्रिभुवन विमानस्थलमा अतिविशिष्ट कक्षसँगै आसपासको क्षेत्र झकिझकाउ बनाइएको थियो। अपराह्न १ बजेदेखि नै पुगेका नेपाली र चिनियाँ पत्रकारको बाक्लो सहभागिता थियो । पत्रकारलाई समाचार सङ्कलन तथा तस्वीर र श्रव्यदृष्य खिंच्न विभिन्न तीन स्थान तोकिएको थियो।

अपराह्न ४ बजेदेखि नेपाली सेनाले विमानस्थल क्षेत्रको हवाई गस्ती गरेको थियो। अपराह्न ४:०८ बजे चिनियाँ पत्रकार र अधिकारीहरु सवार एयर चाइनाको पहिलो विमान अवतरण भएको ३७ मिनेटपछि ४:४५ बजे राष्ट्रपति सी सवार विशेष विमान अवतरण भएको थियो। त्यसको करीब २० मिनेटपछि विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले उनलाई स्वागत गरेको थिइन्। नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथिको सम्मानमा २१ तोपको सलामी दिएपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत अभिवादन गरे।

स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीको सहभागिता थियो।

नाच देखाउन पाउनु नै ऐतिहासिक …
“राष्ट्रिय पोशाकमा सातै प्रदेशको झाँकी देखाउन पाइयो, उहाँ (राष्ट्रपति सी) ले पनि रमाइलो महसुस गर्नुभयो, उहाँको अगाडि नाच देखाउन पाउँदाको ऐतिहासिक क्षण अविस्मरणीय रहयो, नृत्यमा सहभागी नेपाल प्रहरीका कलाकार मेघमान श्रेष्ठले राससलाई अनुभव सुनाए।

सर्वसाधारणले पनि सडकमै आएर सीको स्वागत गरेका थिए । सीको स्वागतका लागि प्रहरीको सङ्गीत विद्यालयकी पूर्णिमा श्रेष्ठको समूह नेवारी पोशाकमा थियो। उसले आफ्नै साँस्कृतिक झाँकी प्रस्तुत गर्‍य । “धेरै उत्तेजित भयौँ, भिभिआइपीको अगाडि नाच देखाउन पाउनु अहोभाग्य हो”, श्रेष्ठले भने।

विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए।

विशेषगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिँगारिएको स्थानबाट राष्ट्र नै उर्लिएर स्वागत गरेको थियो ।

चिनियाँ विशिष्ट पाहुनाको आवागमनका सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका छन्। विमानस्थलबाट बाहिरिने द्वार, तीनकुने चोक, माइतीघर मण्डल, त्रिपुरेश्वर, कालीमाटी चोक, ताहाचललगायत स्थान चिटिक्क सिँगारिएको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको छ भने ढकमक्क फुलेका फूलले विमानस्थल र सवारी मार्गको शोभा नै बढाएको छ।

राष्ट्रपति सीलाई विमानस्थलबाट उनलाई आतिथ्यता एवं आवासको व्यवस्था गरिएको स्थलसम्मका सवारीमार्गका दायाँबायाँ नेपाल सरकारका कर्मचारी, विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थीसहित विशाल जनसमुदायले नेपाल र चीनका झण्डा फहराउँदै स्वागत गरे।

तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो। चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी छन् । राष्ट्रपति सीको यस भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।

भ्रमणका क्रममा महत्वपूर्ण विषयमा हस्ताक्षर हुने जनाइए पनि अन्य कुरा खुलाइएको छैन । होटल सोल्टीमा आज साँझ राष्ट्रपतिले आयोजना गरेको राजकीय भोजमा उनी सरिक भए। सो क्रममा विभिन्न राजनीतिक नेताको समेत सहभागिता थियो।

उनले आइतबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्ने र उनीहरुकै उपस्थितिमा विभिन्न विषयमा सम्झौता हुने जनाइएको छ। भ्रमणका क्रममा सीले विभिन्न राजनीतिक नेतासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनी आइतबार अपराह्न स्वदेश फर्कने छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार