बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका क्रममा दुई पक्षबीच विवाद र झडप भएपछि तत्कालका लागि सडक निर्माण योजना नै स्थगित गरिएको छ ।
सहमतिविपरीत सडक निर्माण गर्न थालिएको भन्दै एउटा पक्ष विरोधमा उत्रिएपछि सोमबार झडप भएको हो । विरोधमा उत्रिएकाहरुलाई डोजर चालकले डोजर प्रयोग गरेरै तितरबितर पार्ने प्रयास गरेपछि अवस्था थप तनावग्रस्त बनेको थियो ।
घटनामा सात जना घाइते भएका छन् । प्रहरीले डोजर चालकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे एक भिडियोमा एक महिलालाई बाटो खन्ने क्रममा चालकले डोजरले उधिनेर फालेको देखिन्छ । डोजरले उधिनेर फालेपछि उनी केही मिटर पर बत्तिएको देखिन्छ । त्यसपछि स्थानीयले ढुंगामुढा गरेको र तनावको अवस्था देखिन्छ ।
बाटो खन्ने क्रममा अर्को पक्षले अवरोध सिर्जना गरेपछि विवाद बढेको बताए । हाल बाटो खन्ने काम स्थगित गरिएको उनको भनाइ छ ।
सोमबार भएको झडपमा सातजना घाइते भएकोमा पाँच जनाको स्थानीय अस्पतालमा उपचार भएको र उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । घाइते अन्य दुई जनामध्ये एक जनालाई चिकित्सकले नै धनगढी ‘रिफर’ गरेको र अर्का एक घाइते स्वेच्छाले उपचारका लागि धनगढी गएको बताइएको छ ।
स्थानीय तहमा बाटो खन्ने योजना नगरपालिकाकै भएका कारण नगरपालिकाले नै यसबारे सहमति जुटाउने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।
प्रहरीले घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएको छ । उनीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झडपमा संलग्न अन्य चार जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको र आवश्यक कारवाही प्रक्रिया सुरु भएको प्रहरीको भनाइ छ ।