पोखरा – गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार मुग्लिङदेखि तनहुँको कोत्रेसम्मको ७२ किलोमिटर सडकखण्डलाई सुरक्षित र सरसफाइयुक्त बनाउन जिल्लाका पाँच स्थानीय तह जुटेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिका राजमार्गलाई सुरक्षित बनाउन जुटेका हुन् ।
राजमार्ग भएर यात्रा गर्ने पर्यटकको यात्रालाई सुरक्षित बनाउने उद्देश्यले शुक्रबारदेखि राजमार्गमा सरसफाइ अभियान थालिएको व्यास नगरपालिकाका प्रमुख न्यौपानेले जानकारी दिए । नजिकिदै गरेको नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन राजमार्गलाई सुरक्षित र सरसफाइयुक्त बनाउन आवश्यक ठानेर अभियान शुरु गरिएको न्यौपानेले बताए ।
“राजमार्गमा थुप्रै व्यक्तिले ज्यान गुमाएका छन्, यसलाई कसरी सुरक्षित बनाउन सकिन्छ त्यसका लागि स्थानीय तहको तर्फबाट पहल थालेका हौँ”, नगर प्रमुख न्यौपानेले भने, “यो अभियानमा स्थानीय प्रशासन, सडक विभागलगायत सबै क्षेत्रको सहभागिता छ ।” राजमार्गमा भएका बिजुलीका पोल, रुखलाई रङरोगन गर्नेदेखि लिएर राजमार्ग वरपर भएका झाडीलाई फँडानी गर्नेसम्मका कार्यक्रम सञ्चालन गरिनेछ । “कोत्रेबाट छिरेपछि मुग्लिङ नपुगेञ्जसम्म राजमार्गमा तनहुँको छुट्टै पहिचान दिने खालका अभियानलाई निरन्तरता दिन्छौँ”, न्यौपानेले भने ।
भ्रमण वर्ष २०२० सबैको पहिचान र परिचय भएकाले तनहँुवासीले भ्रमण वर्षका लागि छुट्टै पहिचान बनाउनुपर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । “राजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई तनहुँ प्रवेश गरेपछि आहा ! कस्तो राम्रो भन्ने सन्देश दिन जरुरी छ”, थापाले भन्नुभयो, “त्यसका लागि यो अभियान सार्थक हुनेछ ।”
शुक्रबारबाट शुरु भएको यो अभियानलाई निरन्तरता दिइने शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले जानकारी दिनुभयो । “यो अभियानमा सबैलाई सहभागी गराउँदै अगाडि बढ्छौँ”, गुरुङले भने ।
स्थानीय तहले प्रहरी प्रशासनको समन्वयमा राजमार्गमा गुड्ने सार्वजनिक सवारीसाधनबाट फोहर फाल्न निषेध गर्ने भएका छन् । त्यसका लागि प्रत्येक सार्वजनिक सवारीमा डस्टबिनको व्यवस्था गर्न अनुरोध गरिने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । “गाडीबाट जथाभावी फोहर फालिदिँदा वातावरण प्रदूषित भएको छ,” थापाले भने, “यसलाई नियन्त्रणमा लिन सार्वजनिक सवारीमा डस्टबिनको व्यवस्था गर्न यातायात व्यवसायीलाई आग्रह गरेका छौँ ।”
भ्रमण वर्षलाई लक्षित गरी राजमार्गलाई सुरक्षित र सफाईयुक्त बनाउन तनहुँका स्थानीय तहले थालेको प्रयासले राष्ट्रियस्तरमा छुट्टै सन्देश दिन सफल भएको बताउछन गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल । मन्त्री लम्सालले भने, “यहाँका नागरिक सभ्य छन्, जताततै फोहर गर्दैनन् भन्ने सन्देश दिनका लागि कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छौँ ।” प्लाष्टिक व्यवस्थित गर्नका लागि सरकारले विधेयक ल्याउने तयारी गरिएको भन्दै मन्त्री लम्सालले फोहरलाई मोहर बनाउन योजना बनाइएको जानकारी दिए ।