पोखरा- मनाङमा हिउँ पर्न थालेसँगै तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेटसम्म झरेको छ । माथिल्लो मनाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका अनुसार माथिल्लो क्षेत्रमा साँझबिहान माइनस ८ र दिउँसो माइनस ५ डिग्रीसम्म तापक्रम झर्ने गरेको छ ।
मौसम मापनयन्त्र (थर्मोमिटर) र मौसम पूर्वानुमानसम्बन्धी विभिन्न वेबसाइटमार्फत मनाङमा तापक्रम मापन गरिँदै आएको छ । सातायता बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । स्थानीय सबेरै घरबाहिर निस्कन नसकेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । प्रमुख जिल्ला अधिकारी पुष्पराज बरालका अनुसार पानी पनि जम्न थालेको छ ।