पोखरा – नेपाल मार्सल आर्टस् हाप्किडो संघले पोखरामा अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्किडो सेमिनारको आयोजना गर्ने भनेको छ।
पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आगामी माघ ११ र १२ गते पोखरामा अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्किडो गर्न लागेको आयोजकले जानकारी दिएका छन ।सेमिनारमा करिब २० देशका ग्रान्ड मास्टर, मास्टरु, प्रशिक्षक, खेलाडी र अफिसियल गरी ६ सय जनाको सहभागिता रहने हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर ‘वसन्त’ ले बताए। मगरका अनुसार सेमिनारमा अमेरिका, अष्ट्रिया, रसिया, दक्षिण कोरियाका ग्रान्डमास्टर, मास्टर कालीबहादुर घर्ती र आठौं सागमा स्वर्ण पदक विजेता बक्सिङका प्रकाश थापा मगरले प्रशिक्षण दिनेछन् ।
मगरका अनुसार दक्षिण कोरियाबाट विकास भएको हाप्किडो मार्सल आर्टस्को मिक्स खेल हो । आत्मरक्षा र सामाजिक अनुशासनका लागि महत्वपूर्ण मानिने यो खेलका नेपालमा करिब १० हजार खेलाडी रहेको मगरले बताए । पोखरामा पनि करिब ३ सय जना हाप्किडोका खेलाडी रहेको उनले बताए ।पोखरामा आयोजना गरिएको हाप्किडोको अन्तर्राष्ट्रिय गोष्ठीले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन महत्वपूण भूमिका खेल्ने अध्यक्ष मगरले विश्वास व्यक्त गरे।खेलाडीलाई अवसर प्रदान गर्न र हाप्किडो खेललाई अझ व्यापक बनाउने नै सेमिनारको उद्देश्य रहेको उनले बताए ।
सेमिनार गर्न करिब ४० लाख खर्च लाग्ने आयोजकले बताएका छन। नेपाल मार्सल आर्टस् हाप्किडो संघ २०७३ सालमा राष्ट्रिय परिषद्मा दर्ता भई विभिन्न गतिविधि गर्दै आएको छ ।