logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अति विपन्न परिवारलाई बन्दीपुर गाउँपालिकाबाट सोलार


  • रासस
  • मंगलबार, पुष १५ २०७६

तनहुँ-  बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएको घरधुरी छनौट गरी बन्दीपुर गाउँपालिका–६ स्थित बाक्से र खहरेका सात परिवारलाई सोलार वितरण गरेको हो ।

अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । ‘बिजुली नपुगेको गाउँका अति विपन्न र बिजुली पुगे पनि मिटर राख्न सक्ने हैसियत नभएका घरधुरी छानेर सोलार वितरण गरेका हौँ,’ उनले भने, ‘अन्य विपन्नलाई पनि क्रमशः सोलार वितरण गरिनेछ ।’

सोलार प्यानल पाउने सात घरधुरी नै सुकुम्वासी परिवार हो । सार्वजनिक जग्गामा घर बनाएर बसेका उनीहरुले मिटर जडान गर्न पाएका छैनन् । प्रतिघर रु २५ हजार मूल्य बराबरको सोलार प्यानल वितरण गरिएको जनाइएको छ ।

गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् । अहिलेसम्म मैनबत्ती र टुकीको भरमा बत्ती बाल्दै आएकामा सोलार पाएपछि घर नै उज्यालो हुने भन्दै स्थानीयवासी विष्णु नेपालीले खुशी व्यक्त गरे ।

बिजुली बाल्न मिटर जडान गर्न सक्ने अवस्था नरहेको अवस्थामा गाउँपालिकाले सोलार वितरण गरेर उदाहरणीय काम गरेको अर्का स्थानीयवासी सन्तमाया परियारले बताए । गाउँपालिकाले केही समय अगाडि बन्दीपुर गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, निरमाया प्रजा, प्रेमबहादुर रिलामी मगरलाई सोलार वितरण गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार