logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जंगलमा बस्तु चराउन गएकी १३ वर्षीया बालिका बलात्कृत


  • राजनीति
  • शनिबार, फाल्गुन १२ २०७४

जंगलमा बस्तु चराउन गएकी १३ वर्षीया बालिका जुगल गाउँपालिका–८ का ४५ वर्षीय शंखलाल तामाङबाट बलात्कृत भएकी छिन् ।घरनजिकै जंगलमा एक्लै बस्तु चराइरहेको अवस्था पारेर तामाङले बालिकालाई जबर्जस्ती गरेका थिए । मुख र घाँटी थुनेर बलात्कार गरिएको पीडित बालिकाले बताएकी छिन् ।

कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएकाले पीडित बालिकाले परिवारका कुनै सदस्यसँग मुख खोलेकी थिइनन् । तर, दिनहुँ बिरामी पर्दै गएपछि उनले आफू बलात्कृत भएको आमालाई सुनाइन् । बलात्कार भएको डेढ महिनापछि उनले रुँदै आमासामु घटनाबारे भनेकी हुन् । जंगलमा चिच्याए पनि कसैले नसुनेकाले घन्टौँसम्म बलात्कार हुनुपरेको बालिकाको भनाइ उद्धृत गर्दै आमा श्रीमाया (नाम परिवर्तन)ले बताइन् ।

बलात्कार भएको केही दिनपछि नै बालिका बिरामी परेकी थिइन् । कक्षा आठमा पढ्ने छोरी विद्यालय जान नसक्ने भएर दिनहुँ ओछ्यानमा सुतिरहेको देखेपछि घरका सदस्यले कारण खोजी गरेका थिए । अरू कसैलाई भनेमा मारिदिने तामाङको धम्की र त्रासले बालिकाले घटनाबारे कसैलाई सुनाउन सकेकी थिइनन् । तामाङले दिनहुँजसो बालिकाको घरसम्म आएर घटना बाहिर आएमा ज्यान मार्ने धम्की दिने गरेका थिए ।

जलवीरे प्रहरीको बेवास्ता
१३ वर्षीया छोरी बलात्कार भएको थाहा पाएपछि न्याय खोज्दै श्रीमाया श्रीमान्सहित जलवीरे प्रहरीचौकी गुहार्न पुगे । तर, त्यहाँका प्रहरीले खासै चासो दिएनन् । ‘जलवीरे प्रहरीले जिल्ला जाऊ भन्यो, त्यसैले हामी जिल्ला प्रहरी कार्यालय आएका हौँ,’ ८ फागुनमा तामाङविरुद्ध किटानी जाहेरी दर्ता गरेर बाहिर निस्केका बालिकाका बाबुआमाले पीडा व्यक्त गर्दै भने ।

बलात्कृत बालिका अस्पताल भर्ना भएकी छिन् । आमाको भनाइअनुसार उनको शरीर निकै कमजोर छ । बलात्कार भएको हीनता र मनोवैज्ञानिक त्रासले बालिका बिरामी भएको आमाले सुनाइन् । बिरामी परेर सुतिरहेको अस्पतालको बेडमा पुग्दा पंक्तिकारसामु बालिका रोइरहेकी थिइन् । बलात्कार घटना बाहिर नलान पीडक तामाङले फोन गरेर धम्की दिइरहेको पीडित परिवारले बताए ।

कांग्रेसका स्थानीय एक नेताले घटना भित्रभित्रै मिलाउन दबाब दिएको र पीडकलाई संरक्षणसमेत गरेको श्रीमाया दम्पतीले आरोप लगाएका छन् । घटनामा संलग्न तामाङलाई यथाशीघ्र पक्रन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले घटना जघन्य र निन्दनीय भएको बताए । ‘दोषीलाई यथाशीघ्र पक्रन जुगल गाउँपालिकाको बराम्ची क्षेत्रमा प्रहरी परिचालन गरेका छौँ,’ उनले भने ।

enayapatrika.com

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार