राजनीति
१३ चैत, वीरगञ्ज । पर्साको बहुदरमाईमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिना वितिसकेको भएपनि त्यसको अनुभूति नभएको भन्दै आन्दोलनका लागि संघर्ष समिति गठन गरिएको छ ।
बहुदरमाई संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय पर्सामामा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको छ ।
स्थानीय सरकारबाट पाउनुपर्ने सामान्य सेवा सुविधाबाट समेत सर्वसाधरण बञ्चित हुनुपरेको, नेतृत्वले अरुको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति देखिएको र गैरकानुनी रुपमा प्रस्तुत हुने गरेको अरोप संघर्ष समितिको छ ।
‘नगरको नेतृत्व सबैको लागि हुनुपर्नेमा त्यसो हुन सकेको छैन । विना परामर्श र कानुनी पक्रिया समेत पुरा नगरी एकल र गैर कानुनी निर्णयहरु भइरहेको छ ।’ उनीहरुले भनेका छन ‘कानुनी पक्रिया पूरा नगरी भएका नियुक्ति, विकास निर्माणमा भइरहको अपारदर्शिता र आर्थिक अपचलन, नगरपालिका कुनै दल विशेषको जस्तो मात्रै ठान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’
नगरपालिकामा नेतृत्वको मनोमानी बढेकोले त्यसको विरोधमा उत्रन संघर्ष समिति गठन गरिएको समितिका संयोजक मोहनप्रसाद यादवले बताए । ‘नगरपालिकामा विभिन्न किसिमको गलत क्रियाकलापहरु भइरहेको छ । नगरवासी आजित छन्,’ उनले भने ‘स्थानीय जनताको चाहना, विकास र समस्या समाधानको लागि नेतृत्व गम्भीर देखिएको छैन । त्यसैले संघर्ष समिति गठन गरेका छौं ।’
उनले नगरपलिकामा देखिएका समस्या समाधानका लागि सोमबार नै जिल्ला प्रशासन कार्यालय पर्सामा अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाइएको बताए । ‘स्थानीय समस्या समाधानमा स्थानीय सरकार गम्भीर नभए बुधबारदेखि असहयोग आन्दोलन शुरु गर्छौ । नेतृत्वको बहिस्कार, वडाहरुमा झण्डा व्यानरसहित तालाबन्दी र भण्डाफोर अभियान चलाउने तयारी हामीले गरिसकेका छौं ।’
जनतामाथि लगाइएको अनावश्यक कर खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्ने, जनतामाथि लगाइएको सार्वजनिक मुद्धा फिर्ता लिनुपर्ने, आरगना बाँधको उपभोक्ता समिति खारेज गरिनुपर्ने, आईटी अफिसर र कर्मचारी नियुक्ति खारेज गरिनुपर्ने, आएका कर्मचारीहरुलाई तुरुन्त व्यवस्थापन गरिनुपर्ने, बजेट हिनामिना गरेको सम्बन्धमा छानविन गरिनुपर्ने, नगर प्रमुख र उपप्रमुख नियमित कार्यालयमा उपस्थित हुनुपर्ने ८ बुँदे माग संघर्ष समितिले राखेको छ ।
बुधबारदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत समितिले दिएको छ ।