logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बेनी जोमसोम सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने


  • रासस
  • शनिबार, फाल्गुन ३ २०७६

पोखरा- हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक फागुन १० देखि चैत १५ गतेसम्म घुमाउने तालदेखि बेगखोलासम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको घुमाउने तालदेखि बेगखोलासम्मको सडक स्तरोन्नति तथा विस्तार कार्यका लागि दैनिक आठ घण्टा बन्द गरेर कामलाई तीव्रता दिइने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्लाका प्रजिअ, प्रहरी प्रमुख, राजनीतिक दल, स्थानीय तह र बेनी–जोमसोम सडक आयोजना तथा ठेकेदार कम्पनीका प्रतिनिधिको बैठकले सो निर्णय गरेको हो ।
यही फागुन १० देखि चैत १५ गतेसम्मका लागि बेनी जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालदेखि बेगखोला सम्मको सडकमा दैनिक आठ घण्टा सवारी रोकेर सडक स्तरोन्नति गर्ने निर्णय भएको सहायक प्रजिअ महेश सुवेदीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले जारी गरेको सूचनाअनुसार बिहान ८ देखि दिउँसो १२ बजेसम्म र दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारी रोकेर सडक निर्माणको काम गर्ने निर्णय भएको हो । सडक निर्माणलाई सहज र गति दिनका लागि ठेकेदार कम्पनीले स्थानीय प्रशासनलाई सवारी सञ्चालनको समयतालिका बनाउन अनुरोध गरेको थियो ।

घुमाउने तालदेखि बेगखोला खण्डको सडक बन्द हुँदा त्यसको विकल्पका रुपमा रहेको घुमाउने ताल–पिप्ले–रानीपौवा–माझखर्कको वैकल्पिक सडक मर्मत गरी हलुका सवारी सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । विसं २०६५ मङ्सिरमा सक्ने लक्ष्य रहेको आयोजनाको हालसम्म करीब साठी प्रतिशतमात्र भौतिक प्रगति छ । बेनीदेखि जोमसोम सम्मको ७६ किलोमिटर सडक ११ मिटर फराकिलो र कालोपत्र गर्न चारवटा प्याकेजमा काम भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार