राजनीति
भक्तपुर – भक्तपुरको खरिपाटीमा रहेको क्वरेण्टीनमा रहेका ७३ जनालाई सोमबार घर पठाइएको छ ।
कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वरेण्टीनमा राखिएको थियो ।
यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्याउने गरी आज पठाइएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले खरिपाटीको क्वरेण्टीनमा रहेका उपत्यकाभित्रका २६ सहित कुल ७३ जनालाई आज घर फर्काइएको जानकारी दिनुभयो ।
नेपाली सेनाका दुई र सार्वजनिक यातायात दुई गरी चारवटा बसमा हालेर काठमाडौँ, चितवन, झापा, बुटवल, नेपालगञ्ज, मुग्लिङ, पोखरा, बनेपा र पाँचखाल पठाइएको कर्णेल पौडेलले बताउनुभयो । उनीहरुलाई बसमा खानाका लागि खानेकुरासमेत पठाएको जानकारी दिनुभयो ।
प्रदेश १ मा आइसोलेसनबाट ११ जना डिस्चार्ज, ६९ को रिपोर्ट नेगेटिभ
प्रदेश १ मा आइसोलेसनमा बसेर उपचार गराइरहेका ११ जना डिस्चार्ज भएका छन् ।
सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनालाई राखिएको छ । सूचना डेस्कले दिएको जानकारी अनुसार सोमबारसम्म क्वारेन्टाइनमा ४४ महिला र ५ सय ६६ पुरुषसहित जम्मा ६ सय १० जनालाई राखिएको छ ।यता होम क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ३८ महिला र दुई हजार ३ सय ९ पुरुष गरी जम्मा २ हजार ८ सय ४७ जना रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिनुभयो ।
प्रदेश १ मा हालसम्म ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षण गरिएको छ । तीमध्ये ६९ जनालाई कोरोना नभएको पुष्टि भएको छ । बाँकीको रिर्पोट आउन बाँकी रहेको छ । स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिर्पोट आएको हो ।
परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमूना धरान पठाइएको छ । प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानबाट कोरोना संक्रमणको परीक्षण भइरहेको छ ।