logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको काममा बाधा


  • राजनीति
  • शुक्रबार, बैशाख २१ २०७५

पटक पटक मन्त्रालय परिवर्तन हुँदा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको काममा बाधा पुगेको छ । माघको अन्तिमसम्ममा कर्जा लिनका लागि इच्छुक सहकारीको आवेदन लिइसक्नुपर्ने भए पनि अहिलेसम्म काम हुन सकेको छैन । एउटा मन्त्रालयबाट गरिरहेको काम अन्तिम चरणमा पुग्ने बेलामा अर्को मन्त्रालयमा सारिँदा काम प्रक्रियामै अल्झिएको हो ।

अघिल्लो वर्ष सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राखिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष एक वर्ष नपुग्दै गत चैत ५ गते युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सारिएको थियो । दस वर्षअघि अर्थ मन्त्रालय अन्तर्गत रहने गरी स्थापना भएको कोष सहकारी तथा गरिबी निवारण हुँदै युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत आइपुगेको छ ।
कोषका कार्यक्रम प्रवद्र्धन अनुसन्धान र सूचना प्रमुख सम्झना वाग्ले भन्नुहुन्छ, ‘अर्थ मन्त्रालयको बेग्लै कार्यशैली थियो, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कुरा बुझाउँदै थियौंँ, फेरि युवा तथा खेलकुदमा आउँदा काममा बाधा पुगेको छ । तोकिएको समयमा गर्नुपर्ने काम र कार्यक्रम अन्तिम चरणमा पुगेर सहकारी मन्त्रालयबाट फाइल फिर्ता भएको छ । अब युवा तथा खेलकुद मन्त्रालयबाट काम गर्नलाई प्रक्रियामै केही समय लाग्छ । ”
युवा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद् र कोषको उद्देश्य र लक्ष्य धेरै हदसम्म मिल्दो प्रकृतिको भएकोले लक्षित वर्गसम्म पुग्न सहज हुने अनुमान गरी कोषलाई युवा मन्त्रालयअन्तर्गत राखिएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय विकास समस्या समाधान समितिमा युवा मन्त्रालयको पटक पटकको पहलपछि कोषलाई युवा तथा खेलकुद मन्त्रालय सारिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी महेन्द्र पौडेल भन्नुहुन्छ, ‘रोजगार, स्वरोजगार र उद्यमशीलता विकासका कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयको समन्वयमा कोष र परिषद् जोडिन सक्छन् भन्ने हाम्रो सोच हो । ’ दुवै स्वायत्त निकाय भएको हुँदा मन्त्रालयको भूमिका समन्वय र सहजीकरण गर्ने मात्र हो । ’ ‘स्वरोजगार कोषको स्रोत र युवा परिषद्को नेटवर्क र सञ्जालको प्रयोग गरेर काम गर्दा उपलब्धि हासिल हुनसक्छ भन्ने विश्वास गरेका छौं’, पौडेल भन्नुहुन्छ । कोष र परिषद् दुवैको केन्द्रमा युवा रहेका छन् भने उनीहरूको उद्यमशीलताको विकास गर्ने लक्ष्य पनि मिल्छ ।
राष्ट्रिय युवा परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेल भन्नुहुन्छ, ‘कोष र परिषद् दुईटैको उद्देश्य र लक्ष्यित वर्ग एउटै हो, त्यसैले मन्त्रालयको समन्वयमा काम गर्दा उपलब्धि हासिल गर्न सहज हुन्छ । परिषद्, कोष र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) एक आपसमा अन्तरसम्बन्धित छन् । यी निकायबीच समन्वय गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता पनि हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार