राजनीति
काठमाडौं– विराटनगरमा गोली लागेर घाइते भएका धर्मगुरु श्री निवासाचार्य भारतको राजधानी नयाँ दिल्ली जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ परेका छन् ।
प्रहरीले अनुसन्धानबाट गोली प्रहारको घटना उनी आफैंको योजनामा घटाइएको खुल्न आएपछि पक्राउ गरिएको जनाएको छ । उनले हिन्दुराज्यको पक्षमा लबिङ गर्दै आएका छन् ।
श्रीनिवासाचार्यले प्रहरीलाई केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको बयान दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले बताए ।
उनकै योजनामा गोली हान्ने, पेस्तोल उपलब्ध गराउने र त्यसको तयारीमा लाग्ने ३ युवकलाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान, सन्तोष भनिने लक्ष्मीराज अधिकारी र चितवनकै माधव चौधरी पक्राउ परेका छन् । चौधरी आचार्यका अंगरक्षक समेत हुन् ।
आचार्यलाई गोली प्रहार गर्ने उनकै अंगरक्षक चौधरी भएको समेत खुलासा भएको छ । अंगरक्षकलाई नै आफुमाथि गोली प्रहार गर्न आचार्यले लगाएको प्रहरीको दाबी छ । पेस्तोल र गोलीको व्यवस्थापन भने नवलपरासीका ३२ वर्षीय खान थरका युवक र लक्ष्मीनाथ अधिकारीले गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार गोली प्रहार गर्नका लागि अधिकारीले चौधरीलाई तालिम समेत दिएका थिए । पक्राउ परेका आचार्यलाई कुन मुद्धा लगाउने भन्ने फैसला विषयमा फैसला भैसकेको छैन । अंगरक्षक चौधरी र अधिकारीलाई भने ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
उनीमाथि चैत २५ गते मोरङमा गोली प्रहार भएको थियो ।