भारतको कर्नाटकदेखि पोखरा आएका २१ वर्षीय युवकको पीसीआर टेष्ट नेगेटिभ आएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन । रोजगारीको शिलशिलामा भारत पुगेका अभिषेक बस्नेत लुकिछिपी १२ दिनको यात्रा गरेर मंगलबार पोखरा आइ इन्द्रपुरी टोलमा बसेका थिए । क्वारेन्टाइनमा नबसी बुवाआमासँग बसेकाे देखेपछि छिमिकीले प्रहरीलाई खबर गरेका थिए।
स्थानीयले खबर गरेलगत्तै पुगेको प्रहरी टोलीलाई देखेपछि अभिषेकले बहालमा बसेको घरको दाेस्राे तल्लाबाट हाम फालेका थिए।
उनले मुग्लिनबाट तरकारी बोक्ने गाडीमा चढेर पोखरासम्म आइपुगेको वडालाई जानकारी दिएका छन् । कर्नाटकबाट बिहारसम्म कति ठाउँमा हिँडेर त कति ठाउँमा अत्यावश्यक बसमा चढेर यात्रा गरेको बस्नेतले बताएका छन् । ‘ठाउँठाउँमा पुलिसलाई ५ सयको आइसी दिएर हिँड्न पाएँ,’ बस्नेतको भनाइ उदृत गर्दै वडाध्यक्ष बरालले सुनाए, ‘बिहारमा केही दिन क्वारेन्टिनमा राखिदियो ।’
बिहारको क्वारेन्टिनबाट पनि भागेर आएको उनले वडामा जानकारी दिएका छन् ।